मेगा बचत तथा ऋण सहकारीको १३ औँ वार्षिक साधारण सभा बेलौरीमा सम्पन्न, उत्कृष्ट सदस्यहरू सम्मानित

बेलौरी (कञ्चनपुर) ।

मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारण सभा अन्तर्गत इकाई ३ (बेलौरी सेवा केन्द्र) को कार्यक्रम शनिबार बेलौरीमा सम्पन्न भएको छ। ‘सुनिश्चित भविष्यका लागि आजैदेखि बचत गरौँ’ भन्ने मूल नाराका साथ भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा प्रधान कार्यालय रहेको संस्थाले बेलौरीस्थित प्रेम होटल लज एण्ड रेष्टुरेन्टको सभा हलमा कार्यक्रम आयोजना गरेको हो।

संस्थाका उपाध्यक्ष रबिन्द्र धामीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बेलौरी नगरपालिकाको कृषि विकास शाखा अधिकृत सुशिला बोहरा प्रमुख अतिथि रहनुभएको थियो। त्यस्तै कार्यक्रममा उग्रतारा बाल विद्यालयका प्रधानाध्यापक केशव सिंह विष्ट, बेलौरी उद्योग वाणिज्य सङ्घका महासचिव रामेश्वर न्यौपाने तथा इलाका प्रहरी कार्यालय बेलौरीका निमित्त प्रमुख एवम् वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) वीर सिंह धामी अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको सहजीकरण संस्थाको बेलौरी शाखाका शाखा प्रमुख केशव अवस्थीले गर्नुभएको थियो।

साधारण सभाको अवसरमा बेलौरी शाखा अन्तर्गत उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरूलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो। जसअन्तर्गत उत्कृष्ट नियमित बचततर्फ देउ प्रसाद चौधरी (सदस्यता नं. ६००४१०) र राम माया श्रेष्ठ (सदस्यता नं. ६००६५३), उत्कृष्ट बाल बचततर्फ दिप बडु, उत्कृष्ट ऋण कारोबारतर्फ ललित गिरि (सदस्यता नं. ५०१८८८), उत्कृष्ट नारी बचततर्फ सिता राना (सदस्यता नं. ६००८४४) तथा शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने सदस्यतर्फ डम्मर सिंह बिष्ट (सदस्यता नं. ६००७०२) सम्मानित हुनुभएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुशिला बोहरा तथा अन्य अतिथिहरूले स्थानीय स्तरमा वित्तीय पहुँच विस्तार, नियमित बचतको संस्कार विकास र समुदायको आर्थिक सशक्तीकरणमा सहकारीले खेलेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ