मीरा श्रेष्ठ,
बेलौरी, कञ्चनपुर
कृष्ण जन्माष्टमीकाे अवसर पारि बेलौरी नगरपालिका रिछाहा स्थित श्री राधाकृष्ण मन्दिरमा राधाकृष्णको मूर्ति अर्र्पण गरि समुद्घाटन कार्यक्रम भएको छ ।

नगर प्रमुख पोतीलाल चौधरीको प्रमुख आतिथ्यता रहेको सो समुद्घाटन कार्यक्रममा नगर प्रमुखद्धारा दिप प्रज्वलन तथा शिलान्यासको उद्घाटन गरिएको हो ।

श्री कृष्ण जन्माष्टमीको सन्ध्यामा सम्पूर्ण पालिकाबासीलाई शुभकामना दिदै समुद्घाटन कार्यक्रममा नगरप्रमुख चौधरीले बेलौरी नगरपालिकाले मिश्रित पालिकावासीको धार्मिक तथा साँस्कृतिक आस्थालाई उतिकै महत्व र सम्मान दिदै आएको जिकिर गरे । ”वडा नं १ देखि १० सम्म सबै मठमन्दिरहरु तथा चर्चहरुमा बेलौरी नगरपालिकाले बजेट छुट्याएको कुरा, सहयोग गरेको कुरा निवेदन गर्न चाहन्छु । साथै, बेलौरी नगरपालिका वडा नं ६ को गौरा मन्दिरमा पनि मूर्ति किनेको कुरा जानकारी गराउन चाहन्छु”, उनको भनाई थियो ।

यो सँगै कालिका मन्दिर, वडा नं ८ को त्रिपूरा मन्दिर तथा वडा नं ५ मा कालेश्वर मन्दिर, सिद्धबाबा मन्दिर लगायतमा नगरपालिकाको तर्फबाट उचित सहयोग र विशेष महत्व दिईएको नगरप्रमुखको दाबी थियो । यसरी मन्दिर तथा साँस्कृतिक चालचलनमा सहभागी भई सहयोग प्रदान गर्नुमा नगरपालिकामा धार्मिक पर्यटनको विकास गर्ने लक्ष्य रहेको समेत उनको भनाई थियो ।

कार्यक्रममा विशिष्ट अतिथिमा बेलौरी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ तथा भलमन्साहरु शिव बहादुर राना र खडक बहादुर चौधरी, ज्येष्ठ नागरिक समाज बाट अध्यक्ष दान सिंह राना, विपद् व्यवस्थापन समितिका अध्यक्ष कलोशी राना रहेका थिए ।

त्यस्तै अतिथिहरुमा भुईया मन्दिरका अध्यक्ष घुम्मन राना, दुर्गा मन्दिरका अध्यक्ष सुरज राना, राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु चन्दन राना, रामचन्द्र मुराउ, हरिलाल राना र भेष बहादुर राना लगायत मन्दिर व्यवस्थापन समितिका सल्लाहकार लच्छु राम राना, पुजारी दशरथ राना तथा यस वर्षको कार्यक्रमका लागि उपस्थित हुनुभएका मुख्य आचार्य तथा प्रख्यात ज्योतिष साजन तिवारी र सहायक पण्डित व्याकरण आचार्य सुशिल अवस्थीको उपस्थिति थियो ।

पुजारीहरुद्धारा राधाकृष्णको मूर्तिमा विशेष मन्त्राेच्चारण सहित प्राण प्रतिष्ठान गरिएकाे थियाे भने राधाकृष्णको मूर्ति सहयोग भएकोमा मन्दिर व्यवस्थापन समितिले नगरप्रमुख पोतिलाल चौधरी तथा बेलौरी नगरपालिकाप्रति आभार व्यक्त गरेको थियो ।





