भदौ ८, धनगढी। नेपाल इटा उद्योग महासंघले सुदूरपश्चिम प्रदेश समितिको आसन्न अधिवेशन वैधानिक र समयानुकूल भएको स्पष्ट पारेको छ। महासंघका महासचिव केदार गोसाईँको हस्ताक्षरमा आईतबार जारी प्रेस विज्ञप्तिमा अधिवेशनबारे उठाइएका शंका र आलोचना निराधार भएको जनाइएको छ।
यसअघि सेती–महाकाली इटा व्यवसायी संघ कैलालीले भदौ ७ गते प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश समितिले १५ दिनको सूचना नदिएकाले अधिवेशनको वैधानिकता प्रश्न उठाउँदै आपत्ति जनाएको थियो। संघले आफ्ना सदस्य उद्योगहरूलाई अधिवेशनमा सहभागी नहुन आह्वानसमेत गरेको थियो।
महासंघको विज्ञप्तिमा श्रावण ५ गते बसेको ७३औं बैठकले सबै प्रदेश समितिलाई महाधिवेशन अगाडि नै अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको स्मरण गराइएको छ। उक्त निर्णयअनुसार कोशी, मधेश, लुम्बिनी र बागमती प्रदेशमा अधिवेशन सम्पन्न भइसकेको र अब सुदूरपश्चिममा पनि सम्पन्न गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरिएको छ।
महासंघले “प्रदेश समिति गठनसम्बन्धी कार्यविधि २०८०” मा अधिवेशन आह्वान गर्दा १५ दिनको सूचना दिनुपर्ने प्रावधान नरहेको स्पष्ट गर्दै अधिवेशनमा सहभागी हुन सदस्य उद्योगलाई पर्याप्त समय दिइएको दाबी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “सुदूरपश्चिम प्रदेश अधिवेशन महासंघको कार्यविधि र विधानको भावना अनुसार वैधानिक रूपमा हुन लागेको हो। यसलाई अवैधानिक भन्दै विवाद सिर्जना गर्नु औचित्यपूर्ण छैन।”
महासंघले जिल्ला संघका पदाधिकारीहरूले व्यक्तिगत स्वार्थका आधारमा प्रेस विज्ञप्ति जारी गरी व्यवसायीबीच फुट ल्याउने प्रयास नगर्न चेतावनी दिएको छ। संगठनभित्र असहमति जनाउने अधिकार भए पनि संगठनको एकता र व्यवसायिक उत्थानलाई प्राथमिकता दिनुपर्ने कुरा विज्ञप्तीमा उल्लेख छ।
यसैबीच, सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष बलदेव सिहं बुडालले २०८२ भदौ ९ गते पुनर्वास उद्योग वाणिज्य संघ, कञ्चनपुरको सभाहलमा हुन गईरहेको दोस्रो अधिवेशनमा सहभागी हुन सबै सदस्य उद्योग र प्रतिनिधिहरूलाई अनुरोध गरेका छन।







