केशब भट्टराई,कञ्चनपुर, भाद्र १४ । कञ्चनपुरको पुनर्वास–८ खड्डाकंकडमा सशस्त्र प्रहरी बल नेपाल बिओपी (बोर्डर आउट पोस्ट) खड्डाकंकडको नयाँ भवन उद्घाटन गरिएको छ।

उद्घाटन कार्यक्रम सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की र सुदूरपश्चिमका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रदीप कुमार पालले संयुक्त रूपमा गरेका हुन्।

कार्यक्रममा मन्त्री सार्कीले पुरानो जीर्ण भवनमा त्रिपालमुनि बसेर ड्युटी गर्नुपरेको अवस्थाबाट अब केही सहजता आउने विश्वास व्यक्त गर्नुभयो। उहाँले २०८१/८२ आर्थिक वर्षमा ६ ठाउँका बिओपी भवन निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी दिँदै आवश्यक जग्गा अभावका कारण समस्या आएको बताउनुभयो। चालु आर्थिक वर्षमा पनि ३ ठाउँमा भवन निर्माणका लागि बजेट छुट्याइएको उहाँले उल्लेख गर्नुभयो।

त्यसैगरी, उहाँले सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतका सुरक्षा निकायहरू जनताको सेवक भएकाले जनताले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। केही तस्करलाई असहज भए पनि आम नागरिकलाई कहिल्यै दुःख नदिन निर्देशन समेत दिनुभयो। भवन निर्माणका लागि जग्गा दान गर्ने स्थानीय सिद्धराज ओझाप्रति उहाँले विशेष कृतज्ञता व्यक्त गर्नुभयो।

कार्यक्रममा पुनर्वास नगरपालिकाकी उपप्रमुख भुलिया कुमारी रानाले बिओपी स्थापना भएपछि चोरी–तस्करी गतिविधि घटेको र नयाँ भवन बनेसँगै सुरक्षाकर्मीको कार्यक्षमता अझै बढ्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले हाल फैलिरहेको बर्डफ्लु संक्रमण नियन्त्रणमा पनि सशस्त्र प्रहरीले कडाइका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो।

डीआईजी प्रदीप कुमार पालले सिमित स्रोतसाधनका बीचमा पनि सशस्त्र प्रहरीले देशको सुरक्षामा दिनरात खटिरहेको बताउँदै भवन निर्माणमा सहयोग गरेकोमा प्रदेश सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो।

४५ लाख रुपैयाँ लागतमा बनेको भवनमा २ कोठा, एउटा हल र २ वटा शौचालय रहेका छन्। भवन निर्माणको जग्गा प्राप्ति प्रक्रियामा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले विशेष पहल गर्नुभएको थियो।
उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।
भवन निर्माणमा सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेस्वरी कंचनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र देब भट्टको निरन्तर प्रयास रहेको जनाइको छ। उपरीक्षक भट्टले अन्य बाकी रहेका स्थानहरुमा पनि बिओपीको भवन निर्माणमा पहल भईरहेको बताए। कुनै स्थानमा जग्गा प्राप्तिको काम भईरहेको र जग्गा प्राप्ति पछि भवन निर्माणको पहल गरिने सशस्त्र प्रहरी उपरीक्षक भट्टले बताए।





