Gen-Z (जेन-जी) को अल्टिमेटमपछि तत्कालै फिल्डमा उत्रियो बेलौरी नगरपालिका, सुरु भयो खाल्डा पुर्ने काम

 बेलौरी, ३० भदौ। बेलौरीमा Gen-Z युवा तथा समर्थकहरूको दबाबपछि बेलौरी नगरपालिका सडकमा रहेका खाल्डाखुल्डी पुर्न तत्कालै फिल्डमा उत्रिएको छ। सोमबार दिउँसो Gen-Z को टोलीले तालाबन्दीको अल्टिमेटम दिएलगत्तै नगरपालिकाले काम सुरु गरेको हो।

यसअघि आज Gen-Z समूहले नगरपालिका कार्यालय क्षेत्र, क्याम्पस रोड र रिछाहा जाने बाटो लगायतका स्थानमा रहेका खाल्डाखुल्डीले नागरिकलाई सास्ती भएको भन्दै तत्काल ग्राभेल हालेर मर्मत गर्न माग गर्दै ध्यानाकर्षण गराउने सूचना जारी गरेको थियो। सोही कार्यक्रम अनुसार आज दिउँसो १२ बजे Gen-Z को टोली नगरपालिका कार्यालय पुगेको थियो।

छलफलका लागि उपमेयर जोगराम चौधरी, प्रवक्ता हर्क बहादुर भूल, निमित्त प्रमुख प्रशासकीय अधिकृत झपी राज ओझा, लेखा अधिकृत ओम प्रसाद उपाध्याय, इन्जिनियर जगदीश जोशी र विपद सम्पर्क व्यक्ति अशोक पाण्डेय लगायतका जनप्रतिनिधि र कर्मचारीहरु उपस्थित थिए। Gen-Z को तर्फबाट विष्णु दत्त अवस्थी, भूपेश पाण्डे, नरेश पाण्डे, सपना विष्ट, केशव बोहरा, लक्ष्मण सिंह दियाल लगायतले सडकको दुरावस्थाबारे जानकारी गराउँदै आजैबाट काम सुरु नभए भोलिदेखि नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी गर्ने अल्टिमेटम दिएका थिए।

युवाहरूको कडा दबाबपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत झपी राज ओझाले माग जायज भएको स्वीकार गर्दै कामलाई युद्धस्तरमा अघि बढाउने प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, “हामी आजैदेखि खाल्डाखुल्डी पुर्ने काममा लाग्नेछौं र अब काम युद्धस्तरमा हुनेछ।”

आफ्नो प्रतिबद्धता अनुसार, नगरपालिकाले आजैबाट ओम शान्ति जाने बाटोमा ग्राभेल हालेर मर्मतको काम थालनी गरेको छ। नगरपालिकाका अनुसार अब क्रमशः अन्य स्थानका खाल्डाखुल्डीहरू पनि पुरिनेछन्। नागरिकस्तरबाट गरिएको सशक्त खबरदारीले तत्कालै परिणाम दिएको यो घटनाले सकारात्मक चर्चा पाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ