बेलौरीमा ‘रातो किताब’ प्रकाशन ढिलाइ: ११ नगरसभा सदस्यको संयुक्त ध्यानाकर्षण

बेलौरी, २ असोज। बेलौरी नगरपालिकाको बजेट पारित भएको दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि वार्षिक विस्तृत योजनासहितको ‘रातो किताब’ प्रकाशन नभएपछि ११ जना नगर सभा सदस्यहरूले उपप्रमुखको ध्यानाकर्षण गराएका छन्।वडा नम्बर ७ का अध्यक्ष प्रकाश श्रेष्ठको नेतृत्वमा गएको टोलीले नगर उपप्रमुख जोगराम चौधरीलाई ध्यानाकर्षण पत्र बुझाउँदै बजेट कार्यान्वयनमा भएको ढिलाइप्रति गम्भीर चासो व्यक्त गरेको हो।

नगर सभाको २०८२ असार ८ गतेको बैठकले बजेट पारित गरेको थियो। नियमानुसार साउन महिनाभित्रै विस्तृत कार्यक्रम र योजना समेटिएको रातो किताब प्रकाशन गरी कार्यान्वयनमा जानुपर्नेमा असोज लाग्दासमेत प्रकाशन नहुँदा सेवा प्रवाह र विकास निर्माणका कामहरू प्रभावित भएका छन्।

ध्यानाकर्षण पत्रमा भनिएको छ, “समयमा रातो किताब ननिस्कँदा मासिक तलबबाट घर चलाउने गरिब तथा विपन्न परिवारका कर्मचारी, विभिन्न सेवा-सुविधाबाट वञ्चित नागरिक र विकास योजनाको पर्खाइमा रहेका नगरवासी प्रत्यक्ष मारमा परेका छन्।”

ध्यानाकर्षण पत्र बुझाउने क्रममा वडा नम्बर ७ का अध्यक्ष प्रकाश श्रेष्ठले नगरपालिकामा विषयगत समितिहरूको संयोजक समेत हालसम्म तोक्न नसकिएको बताउनुभयो। उहाँले भन्नुभयो, “संयोजकहरू नतोकिँदा विषयगत समितिहरूले गर्नुपर्ने महत्त्वपूर्ण कामहरू समेत अलपत्र परेका छन्, जसले समग्र नगरको कामलाई प्रभावित पारेको छ।”

ध्यानाकर्षण पत्रमा हस्ताक्षर गर्ने नगर सभा सदस्यहरूमा प्रकाश श्रेष्ठ, किशन सिंह राना, बिन्द्रावती राना, बसन्ती नेपाली, कमान सिंह चौधरी, देशु चौधरी, तुलसी शमा, फरीता राना, मोती सुनार, भूपपिन्द्र भट्ट र सन्त  बहादुर बडुवाल रहेका छन्।

ध्यानाकर्षण पत्र ग्रहण गर्दै नगर उपप्रमुख जोगराम चौधरीले सदस्यहरूले उठाएको चासो जायज भएको स्वीकार गर्नुभयो। उहाँले रातो किताब छाप्न ढिलाइ हुनुमा देशको विषम परिस्थिति र नगर प्रमुखसँगको समन्वय अभाव मुख्य कारण रहेको बताउनुभयो।

“मैले पूँजीगत र चालुगत योजनाहरूका बारेमा असार १५/१६ गते नै नगर प्रमुखसँग बसेर टुङ्ग्याउने योजना बनाएको थिएँ, तर उहाँबाट अहिलेसम्म कुनै जानकारी नआउँदा काम अलपत्र परेको हो,” उपप्रमुख चौधरीले भन्नुभयो।

उहाँले अबको एक-दुई दिनभित्रै सम्पूर्ण योजनाहरूलाई सरकारी प्रणाली (SUTRA) मा इन्ट्री गरिने र तत्कालै नगरपालिकाको वेबसाइटमार्फत सार्वजनिक गरिने प्रतिबद्धता जनाउनुभयो। उहाँका अनुसार, दसैँलगत्तै रातो किताब छापेर सबैलाई उपलब्ध गराइनेछ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ