जेनजी आन्दोलन जारी रहँदा धर्मेन्द्र गिरीले मेयरलाई बुझाए ज्ञापनपत्र

बेलौरी, कञ्चनपुर, २० असोज। बेलौरी नगरपालिका वडा नम्बर ४ निवासी धर्मेन्द्र गिरीले बेलौरी नगरपालिकाका आम नगरवासीको तर्फबाट स्वास्थ्य सेवा, फोहोरमैला व्यवस्थापन र अन्त्येष्टि कार्यसँग सम्बन्धित अत्यावश्यक मागहरू समेट्दै नगर प्रमुख पोतिलाल चौधरीलाई एक ज्ञापनपत्र बुझाएका छन्। गिरीले नगरवासीका दैनिक जीवनमा प्रत्यक्ष असर पार्ने तीनवटा महत्वपूर्ण विषयमा नगरपालिकाको ध्यानाकर्षण गराउँदै तत्काल समाधानका लागि आग्रह गरेका हुन्।

सोमबार नगर प्रमुख चौधरीलाई बुझाइएको ज्ञापनपत्रमा बिरामीहरूको उपचार पहुँचलाई सहज बनाउन २४ सै घण्टा सञ्चालन हुने गरी पूर्ण निःशुल्क एम्बुलेन्स सेवा तत्काल व्यवस्था गर्नुपर्ने पहिलो माग राखिएको छ। बेलौरीका बासिन्दाहरूलाई थप उपचारका लागि महेन्द्रनगर र धनगढीका अस्पतालहरूसम्म पुग्न हाल कठिनाइ भइरहेको र आर्थिक भार पनि परेको भन्दै सो सेवा अनिवार्य रहेको गिरीले उल्लेख गरेका छन्।

त्यसैगरी, ज्ञापनपत्रमा मानवीय समवेदनासँग जोडिएको विषयलाई प्राथमिकता दिँदै निःशुल्क शव वाहन, शव चिस्यान मेसिन (मर्चरी) र व्यवस्थित दाहसंस्कार स्थलको माग गरिएको छ। भकुण्डामा रहेको दाहसंस्कार स्थलमा निःशुल्क र पर्याप्त दाउराको व्यवस्था गर्नुपर्ने तथा वर्षायाममा पानी पर्दा शव जलाउन कठिनाइ हुने भएकाले सो स्थानमा एउटा छहारी (सेड) निर्माण गरिनुपर्ने माग पत्रमा समेटिएको छ।

तेस्रो महत्वपूर्ण माग बेलौरी बजार क्षेत्रको फोहोरमैलाको तत्काल उचित व्यवस्थापन रहेको छ। बजार क्षेत्रमा जथाभावी फ्याँकिएको फोहोरले नगरको सौन्दर्य बिगार्नुका साथै जनस्वास्थ्यमा समेत गम्भीर असर पार्न सक्ने भन्दै तत्काल फोहोर उठाएर दिगो व्यवस्थापन गर्न नगरपालिकालाई आग्रह गरिएको छ।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख चौधरीले अभियन्ता गिरीले उठाएका मागहरू आफूले सकारात्मक रूपमा लिएको बताए। उनले केही मागहरू कार्यान्वयनको प्रक्रियामा गइसकेको जानकारी दिँदै भने, “शव चिस्यान मेसिन र शव वाहनका लागि पहल भइसकेको छ। दाहसंस्कारका लागि आवश्यक दाउराको विषयमा पनि हामी कुरा अगाडि बढाउनेछौं।”

पछिल्लो समय बेलौरीमा भइरहेको ‘जेनजी तथा समर्थकको आन्दोलन’ र सुशासनका लागि बढेको नागरिक खोजीका कारण नगर प्रमुखलगायत जनप्रतिनिधिहरूमाथि सार्वजनिक सरोकारका विषयमा काम गर्न निरन्तर दबाब बढिरहेको बेला यो ज्ञापनपत्र आएको हो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ