बेलौरीमा प्रहरी निरीक्षक चौधरीको ‘एक्सन’: हाजिर भएको सातामै लागुऔषध र तस्करी नियन्त्रणमा सफलता

बेलौरी, कञ्चनपुर, १३ कार्तिक।इलाका प्रहरी कार्यालय बेलौरीका नवप्रमुख, प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले आफ्नो कार्यकालको सुरुवातसँगै लागुऔषध र चोरी तस्करी नियन्त्रणमा आक्रामक कारबाही थाल्नुभएको छ। कार्तिक ५ गते मात्रै कार्यालयमा हाजिर हुनुभएका निरीक्षक चौधरीले एक साता नबित्दै लागुऔषध र तस्करीका दुई वटा घटनामा सफलता पाउनुभएको हो।

कार्यालयका अनुसार, सोमबार (कार्तिक १० गते) लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी, कैलाली र इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले बेलौरी नगरपालिका–६ बसपार्क क्षेत्रबाट एक महिलालाई पक्राउ गरेको थियो।गोप्य सूचनाको आधारमा खटिएको टोलीले बेलौरी ८ पचुई बस्ने संगिता चौधरीलाई शंका लागि जाँच गर्ने क्रममा निजले लुकाई छिपाई राखेको अवस्थामा शुद्ध तौल १२.६ (बाह्र ग्राम छ सय मिलीग्राम) खैरो हेरोइनजस्तो देखिने खैरो पदार्थ बरामद भएको थियो।

यसैगरी, प्रहरी निरीक्षक चौधरीकै नेतृत्वमा खटिएको टोलीले अवैध चोरी-तस्करी नियन्त्रणमा पनि सक्रियता बढाएको छ। प्रहरीले अवैध भैंसी ल्याउदै गरेको सुपप्र ०२००१ च ११५५ नम्बरको जिप र सवारी चालकलाई नियन्त्रणमा भन्सार चलान गरेको थियो। साथै, सोही अवधिमा प्रहरी टोलीले अवैध रूपमा ल्याइएको माछा लगायत अन्य विभिन्न तस्करीका सामानहरू समेत बरामद गरी नष्ट गरेको थियो। कार्तिक ५ गते मात्रै जिम्मेवारी सम्हाल्नुभएका प्रहरी निरीक्षक चौधरीले छोटो समयमै लागुऔषध र सीमा क्षेत्रमा हुने तस्करी जस्ता प्रमुख अपराधमाथि प्रहार गरेपछि यसले नागरिकमा शान्ति सुरक्षाप्रति आशा जगाएको छ।

यद्यपि, सुरुवाती कारबाहीले नागरिकमा आशा जगाए पनि, बेलौरी क्षेत्रका दीर्घकालीन समस्याहरू जस्तै संगठित तस्करी, अपराध, चोरी र युवा पुस्तामा बढ्दो दुर्व्यसनीको जालो तोड्नु उहाँका लागि प्रमुख चुनौती हुनेछ। नागरिकहरूले प्रहरी निरीक्षक चौधरीको यो सक्रियता उहाँको पूरा कार्यकालभरि नै निष्पक्ष र निरन्तर रहने अपेक्षा राखेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ