बेलौरी, १६ कार्तिक ।Gen-Z बेलौरी तथा समर्थक समूहले नेकपा (एमाले) बेलौरी नगर कमिटीका अध्यक्ष नवराज शाहीले ‘Gen-Z आन्दोलनका सहिदहरू’ प्रति अपमानजनक र अमानवीय टिप्पणी गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ। समूहले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष शाहीको उक्त अभिव्यक्तिको घोर भर्त्सना गरेको हो।
विज्ञप्तिअनुसार, आइतबार बेलौरी नगरपालिकाको कार्यालयमा ‘Gen-Z चोक’ सम्बन्धी छलफलका क्रममा अध्यक्ष शाहीले उक्त टिप्पणी गरेका हुन्।
बैठकलाई प्रत्यक्ष प्रसारण गर्ने वा नगर्ने भन्ने विषयमा प्रारम्भिक छलफल चलिरहेकै बेला शाहीले मुख्य छलफल सुरु हुनुअघि नै “अनावश्यक रूपले Gen-Z आन्दोलनका शहीदहरूलाई अपमानित हुने गरि ‘उनीहरू सहिद नभएर सामानहरू लुट्न गएका चोर, अराजक व्यक्तिहरू हुन्’ भनेको” विज्ञप्तिमा आरोप लगाइएको छ।
Gen-Z समूहले अध्यक्ष शाहीको यस भनाइलाई ‘अमानवीय टिप्पणी’ को संज्ञा दिँदै गम्भीररूपमा भर्त्सना गरेको छ।
“शहीदहरू हाम्रो देश, समाज र लोकतान्त्रिक चेतनाका प्रतीक हुन्। उहाँहरूको त्याग र बलिदानमाथि नकारात्मक टिप्पणी गर्नु अपमान मात्र नभएर, देशको आत्मसम्मानमाथि प्रहार पनि हो,” विज्ञप्तिमा भनिएको छ।
एक जिम्मेवार राजनीतिक पदमा आसिन व्यक्तिबाट यस्तो “असभ्य, गैरराजनीतिक र असंवेदनशील” अभिव्यक्ति आउनु “अत्यन्त निन्दनीय” भएको Gen-Z बेलौरी तथा समर्थक समूहको ठहर छ।





