केशब भट्ट, कार्तिक २६,कञ्चनपुर। सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण हे.क्वा. शैलेश्वरी कञ्चनपुरले जिल्लाको सीमावर्ती क्षेत्र पुनर्वासमा २१ दिने केशकर्तन तालिम सुरु गरेको छ। बुधबार पुनर्वास नगरपालिका–९ ख गाँउस्थित वडा कार्यालयको सभा हलमा “सीमाबासी लक्षित २१ दिने केशकर्तन तालिम” औपचारिक रूपमा सुरु गरिएको हो।
तालिम सञ्चालनका लागि २ जना दक्ष प्रशिक्षक खटाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण हे.क्वा. शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र देब भट्टले जानकारी दिएका छन्। सशस्त्र प्रहरी उपरीक्षक भट्टका अनुसार तालिममा करिब १५ जना प्रशिक्षार्थी सहभागी भएका छन्। कञ्चनपुरको सीमावर्ती क्षेत्रका स्थानीयहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सशस्त्र प्रहरी बलले सञ्चालन गर्दै आएको “सीमाबासीसँग सशस्त्र प्रहरी” कार्यक्रमअन्तर्गत यो तालिम आयोजना गरिएको सशस्त्र प्रहरी उपरीक्षक भट्टले बताए।
तालिमबाट सहभागीहरूले सीप सिकेर आफ्नै क्षेत्रमा स्वरोजगार अवसर सिर्जना गर्न सक्ने अपेक्षा गरिएको पुनर्वास नगरपालिकाका नगरप्रमुख तोया प्रसाद शर्माले बताएका छन्। कार्यक्रम स्थानीय जनप्रतिनिधि कार्यक्रममा सशस्त्र प्रहरी बलका बेलौरीका गुल्मपति तथा विभिन्न सशस्त्र प्रहरी बिओपी प्रमुखहरूको समेत उपस्थिती रहेको थियो।





