बेलौरी, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र बेलौरी नगरपालिकामा वडास्तरीय मेयर कप फुटबल प्रतियोगिताको आज एक समारोहका बिच उद्घाटन गरिएको छ । बेलौरीको ऐतिहासिक खुलामञ्चमा आयोजित कार्यक्रममा खेलकुदको उत्साहसँगै नगरको पूर्वाधार विकास र जग्गा विवादका विषयमा गम्भीर बहस समेत भएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह विष्टको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रम लगत्तै सम्पन्न मैत्रीपूर्ण फुटबल खेलमा बेलौरी नगरपालिकाको कर्मचारी टिमले बेलौरी उद्योग वाणिज्य संघको टिम लाई पराजित गर्दै उदघाटन कार्यक्रमलाई रोमान्चक बनाएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा बेलौरी नगर खेलकुद विकास समितिका पूर्व अध्यक्ष लक्ष्मण सिंह दियालले कभर्ड हल निर्माणसँगै बेलौरीको ऐतिहासिक फुटबल मैदानको आकार खुम्चिएको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभयो । इतिहासमै पहिलो पटक सय देखि एक सय दश मिटरको खेल मैदान नब्बे मिटरमा सीमित भएको र यसले राष्ट्रिय स्तरका खेलहरू खेलाउन समस्या हुने भन्दै उहाँले नेतृत्व पङ्क्तिको ध्यानाकर्षण गराउनुभयो । उहाँले कभर्ड हलको स्थान वा निर्माणका विषयमा अझै पनि पुनर्विचार गर्न सकिन्छ कि भन्दै प्रश्न उठाउनुभयो । साथै उहाँले बजारको पानीको निकास खुलामञ्चमा आउँदा बाह्रै महिना हिलो हुने समस्या र मैदानको पूर्वतर्फको सिमाना विवाद वर्षौँदेखि नसुल्झिएको गुनासो समेत गर्नुभयो ।

पूर्व अध्यक्ष दियालको गुनासोलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं प्रदेश सांसद दिवान सिंह विष्टले बनिसकेको संरचना भत्काउन नहुनेमा जोड दिनुभयो । उहाँले कभर्ड हल इन्जिनियर र सरोकारवालाकै सल्लाहमा बनेको स्पष्ट पार्दै अब सानातिना कुरामा अल्झिनुभन्दा बेलौरीमा बीसौँ करोड लगानी गरेर पन्ध्र देखि बीस बिघा क्षेत्रफलमा सुविधासम्पन्न रंगशाला बनाउनतर्फ लाग्नुपर्ने बताउनुभयो । जग्गाको खोजी गर्न आग्रह गर्दै उहाँले बजेटको पहल आफूले गर्ने प्रतिबद्धता जनाउनुभयो । सांसद विष्टले खुलामञ्चमा पानी जम्ने समस्या समाधानका लागि आगामी वर्ष थप बजेट ल्याएर माटो भरान गरी डुबानको समस्या हल गर्ने घोषणा गर्नुभयो ।

मन्तव्यकै क्रममा सांसद विष्टले बेलौरी बजारको मञ्चले चर्चेको जग्गामा पछिल्लो समय हकदाबीको कुरा उठिरहेको भन्दै कडा चेतावनी दिनुभयो । स्वर्गीय तौला रानाले दान गरेको र आफैँले बसालेको बजार र मञ्चमा अहिले उहाँका सन्ततिले हकदाबी गर्नु इतिहास मेटाउने दुष्प्रयास भएको उहाँको भनाइ थियो । उहाँले सार्वजनिक प्रयोगमा रहेको जग्गामा विवाद नझिक्न सम्बन्धित परिवारलाई आग्रह गर्नुभयो । साथै उहाँले हुलाकी सडक निर्माणमा ठेकेदार र निकुञ्जको अवरोधले ढिलाइ भएको स्वीकार गर्दै काम नगर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउन आफू जनतासँगै उभिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि एवं बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले नगरपालिकाको आन्तरिक स्रोत न्यून हुँदाहुँदै पनि खेलकुदलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले बजेट अभावका कारण केही कुरामा सम्झौता गरेरै भए पनि खेलाडी उत्पादन र प्रतियोगितालाई निरन्तरता दिइरहेको बताउनुभयो । सुदूरपश्चिमलाई चिनाउने दिपेन्द्र सिंह ऐरी जस्ता खेलाडी जन्माउने यो माटोको साख गिर्न नदिने उहाँको प्रतिबद्धता थियो ।

बेलौरी नगर खेलकुद विकास समितिका अध्यक्ष रामेश्वर न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख जोगराम चौधरी विशिष्ट अतिथिको रूपमा रहनुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष प्रकाश श्रेष्ठ, र कार्यवाहक वडा अध्यक्ष लक्ष्मी चन्द साथै कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाश राज पन्त, उद्योग वाणिज्य संघका अध्यक्ष हिरा सिंह विष्ट, महासचिव गोविन्द प्रसाद सापकोटा लगायत विभिन्न विद्यालयका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा नगरभित्रका वडाहरूबाट टिमहरूको उत्साहजनक सहभागिता रहेको छ । उद्घाटन खेलमा नगरपालिकाको टिमले पाएको जितले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको थियो । कार्यक्रमको सहजीकरण नगर खेलकुद समितिका सदस्य तेज बहादुर चन्दले गर्नुभएको थियो भने स्वागत मन्तव्य सदस्य भुपेन्द्र शाहिले राख्नुभएको थियो।







