नेपाली कम्युनिष्ट पार्टीले पुस ७ मा कञ्चनपुरमा एकता सन्देश सभा गर्ने, प्रमुख अतिथि भीम रावल

झलारी, कञ्चनपुर। विभिन्न १६ वटा राजनीतिक दल तथा समूहहरूबीच एकीकरण भई बनेको ‘नेपाली कम्युनिष्ट पार्टी’ ले कञ्चनपुरमा शक्ति प्रदर्शनसहित एकता सन्देश सभा गर्ने भएको छ । आइतबार शुक्लाफाँटा नगरपालिकाको झलारीमा सम्पन्न जिल्लास्तरीय तयारी बैठकले आगामी पुस ७ गते झलारीको खुला मञ्चमा विशाल सन्देश सभा आयोजना गर्ने निर्णय गरेको हो ।

पार्टी एकीकरणको सन्देश तल्लो तहसम्म पुर्‍याउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त सभामा पार्टीका वरिष्ठ नेता भीम रावल प्रमुख अतिथिका रूपमा सहभागी हुने तय भएको छ । जिल्ला संयोजक खेमराज पाण्डेको अध्यक्षतामा बसेको तयारी बैठकले सभालाई भव्य र व्यवस्थित बनाउन १० हजारभन्दा बढी नेता, कार्यकर्ता तथा शुभचिन्तकहरू उतार्ने निर्णय गरेको छ । बैठकमा पार्टीका केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य तथा एकता प्रक्रियामा सामेल भएका विभिन्न घटकका जिल्ला पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

सभाको व्यवस्थापन चुस्त बनाउन बैठकले १ हजार १ सय ११ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । साथै, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, प्रचारप्रसार तथा जनपरिचालन लगायतका कार्यहरू प्रभावकारी रूपमा सम्पादन गर्न आठवटा विभिन्न उपसमितिहरू समेत निर्माण गरिएको छ । बैठकले आसन्न सन्देश सभाको तयारीस्वरूप यही २५ गतेभित्र जिल्लाका सबै वडा तथा नगरस्तरीय तयारी भेलाहरू सम्पन्न गरिसक्ने कार्यतालिका पनि पारित गरेको छ ।

आइतबारको छलफलमा साविकको नेकपा माओवादी केन्द्रका नेताहरू देवीलाल चौधरी र खेम पाण्डे तथा एकीकृत समाजवादीका नेताहरू लालबहादुर खड्का र प्रकाश रावल लगायतले एकता प्रक्रिया र आगामी सभाको औचित्यबारे धारणा राखेका थिए । सुदूरपश्चिमको राजनीतिमा प्रभाव राख्ने विभिन्न कम्युनिष्ट घटकहरूको यो एकता र आगामी सभालाई कञ्चनपुरको राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ