एमाले ११ औँ महाधिवेशन: कञ्चनपुर बेलौरीकी युवा नेतृ कमला बोहरा केन्द्रीय सदस्यमा पुनः निर्वाचित

बेलौरी, कञ्चनपुर । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ३ निवासी युवा नेतृ कमला बोहरा केन्द्रीय सदस्यमा पुनः निर्वाचित हुनुभएको छ। पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि भएको कडा प्रतिस्पर्धामा बोहराले खुला केन्द्रीय सदस्यतर्फ (महिला) आफ्नो बलियो उपस्थिति जनाउँदै ७१ जना उम्मेदवारमध्ये अग्रस्थानमा रहेका ५२ विजयी सदस्यहरूको सूचीमा बोहराले १८४३ मत प्राप्त गर्दै आफ्नो जित सुनिश्चित गर्नुभएको हो । १० औँ महाधिवेशनबाट पहिलोपटक केन्द्रीय कमिटीमा प्रवेश गर्नुभएकी बोहराको यो दोस्रो कार्यकालको निरन्तरताले सुदूरपश्चिमको राजनीतिमा उहाँको बढ्दो प्रभावलाई थप पुष्टि गरेको छ।

विद्यार्थी राजनीतिमा सक्रिय रहँदै अखिलको जिल्ला कमिटी हुँदै केन्द्रीय सदस्य र पार्टीको गाउँ कमिटी उपसचिवसम्मको जिम्मेवारी सफलतापूर्वक सम्हाल्नुभएकी ४० वर्षमुनिकी यी युवा नेतृलाई एमालेले अघि सारेको युवा प्राथमिकताको नीतिले समेत ठूलो टेवा पुऱ्याएको देखिन्छ। वि.सं. २०७९ को स्थानीय तह निर्वाचनमा बेलौरी नगरपालिकाको प्रमुख (मेयर) पदमा झिनो मतान्तरले पराजित भए पनि उहाँले संगठन निर्माण र जनसेवाको कार्यलाई निरन्तरता दिँदै आउनुभएको थियो।

उहाँको यो विजयलाई कञ्चनपुरको राजनीतिक वृत्तमा विशेष चासो र महत्त्वका साथ हेरिएको छ। स्थानीय तहमा पराजित भए पनि विचलित नभई राष्ट्रिय राजनीतिमा आफ्नो कद उच्च बनाउन सफल बोहराको उदयले दक्षिण क्षेत्रका कार्यकर्ताहरूमा नयाँ उत्साह भरेको छ। सुदूरपश्चिमको सीमावर्ती क्षेत्रका समस्या, महिला सशक्तीकरण र विकासका मुद्दाहरूलाई पार्टीको सर्वोच्च नीति निर्माण तहमा सशक्त रूपमा उठाउने क्षमता भएकै कारण उहाँले महाधिवेशन प्रतिनिधिहरूको मन जित्न सफल हुनुभएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ