बेलौरी कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। सोमबार बिहान आफ्नै घरमा लुगा सुकाउने क्रममा करेन्ट लाग्दा स्थानीय २८ वर्षीया हरिना चौधरीको ज्यान गएको हो।
जीत बहादुर चौधरीकी श्रीमती हरिनालाई बिहान करिब ८:३० बजेको समयमा धोएको कपडा सुकाउने क्रममा बिजुलीको तारमा छुन गई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि बेलौरी स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो।
उपचारकै क्रममा बिहान ९:५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटना लगत्तै प्रहरी टोली घटनास्थल पुगी मुचुल्का उठाउने तथा थप अनुसन्धानको कार्य अगाडि बढाएको छ। मृतकको शवलाई प्रक्रिया पुर्याई पोष्टमार्टमका लागि राखिएको प्रहरीले जानकारी दिएको छ।





