धनगढी। सुदूरपश्चिम प्रदेश सभाको संसदीय अङ्कगणितमा फेरबदल आएको छ। हिजो नागरिक उन्मुक्ति पार्टी र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच एकीकरण भएसँगै प्रदेश सभामा नेपाली काँग्रेसलाई पछि पार्दै नेकपा सबैभन्दा ठूलो दल बन्न सफल भएको हो।
यसअघि १८ सदस्यसहित नेपाली काँग्रेस प्रदेश सभाको सबैभन्दा ठूलो दलको रूपमा रहेको थियो। तर, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बनेको १३ सदस्यीय (एक निलम्बितसहित) नेकपामा नागरिक उन्मुक्ति पार्टीका सात जना सदस्य समाहित भएपछि यो समीकरण बदलिएको हो। सात सांसद थपिएसँगै अब २० जना प्रदेश सभा सदस्यसहित नेकपा प्रदेश सभाको सबैभन्दा ठूलो शक्ति बनेको छ।
५३ सदस्यीय प्रदेश सभाको पुरानो संरचना हेर्दा नेकपा माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका ११, नागरिक उन्मुक्तिका सात, नेकपा एकीकृत समाजवादीका चार, राप्रपाका एक र स्वतन्त्र एक जना सदस्य रहेका थिए। तीन अलग-अलग राजनीतिक पृष्ठभूमिबाट आएका दलहरू एकीकरण भई बनेको यो नयाँ शक्तिले सुदूरपश्चिमको संसदीय राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ।





