धनगढीमा पहिलो पटक माघ १६ देखि १८ सम्म ‘भव्य मम महोत्सव’ हुँदै, २०० भन्दा बढी परिकारको स्वाद पाइने।

धनगढी।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी तथा प्रमुख व्यापारिक केन्द्र धनगढीमा पहिलो पटक भव्य ‘मम महोत्सव’ आयोजना हुने भएको छ। नेपालको हस्पिटालिटी क्षेत्रमा ख्यातिप्राप्त सिद्धार्थ ग्रुप अन्तर्गतको सिद्धार्थ कटेज धनगढीले यही माघ १६ देखि १८ गतेसम्म तीन दिने विशेष महोत्सव आयोजना गर्न लागेको हो।

सिद्धार्थ बिजनेस ग्रुपका रिजनल एक्जुकेटिभ डाइरेक्टर केशव न्यौपानेले महोत्सवबारे जानकारी दिँदै स्थानीय स्वाद र नेपालीहरूको प्रिय खाजा ममलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो। न्यौपानेका अनुसार महोत्सवमा २०० भन्दा बढी प्रकारका ममका परिकारहरूको स्वाद लिन पाइनेछ। सिद्धार्थ कटेजले यसअघि नेपालगञ्जमा २०८० सालदेखि सफलतापूर्वक मम फेस्टिबल आयोजना गर्दै आएको अनुभव र त्यहाँ प्राप्त सफलतालाई मध्यनजर गर्दै यसपटक सुदूरपश्चिमको पर्यटन र खानपान संस्कृतिलाई उकास्न धनगढीमा यो अवसर जुराइएको हो।

सिद्धार्थ कटेज धनगढीका म्यानेजर महेन्द्र जोशीका अनुसार महोत्सवको अर्को मुख्य आकर्षण सुदूरपश्चिम प्रदेशका मौलिक तथा परम्परागत खानाका विशेष स्टलहरू रहनेछन्। स्थानीय पहिचान झल्काउने परिकारहरू र परम्परागत स्वाद एवम् संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले राखिने यी स्टलहरूले आगन्तुकहरूलाई रैथाने स्वादको नौलो अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ। तीन दिनसम्म सञ्चालन हुने महोत्सवलाई मनोरञ्जनात्मक बनाउन विविध सांगीतिक कार्यक्रमहरूको पनि तय गरिएको म्यानेजर जोशीले जानकारी दिनुभयो।

महोत्सवको पहिलो र दोस्रो दिन सांस्कृतिक नृत्य, लाइभ ब्यान्ड तथा कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ भने तेस्रो तथा अन्तिम दिन सांगीतिक प्रस्तुतिसहित ‘मम मेकिङ एण्ड कुकिङ कम्पिटिसन’ आयोजना गरिनेछ। धनगढीको मुटुमा अवस्थित सिद्धार्थ कटेजले लक्जरी रेस्टुरेन्ट, प्राइभेट डाइनिङ, स्विमिङ पुल र वाटर फन पार्क जस्ता सुविधाहरू सहित पूर्ण पारिवारिक वातावरण प्रदान गर्दै आएको छ।

सिद्धार्थ ग्रुपले हाल देशभर होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफे गरी ३३ वटा आउटलेटहरू मार्फत गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ। स्थानीय खाद्य परिकारको प्रवर्द्धन र पर्यटन विकासमा टेवा पुर्‍याउने विश्वास लिइएको यस मम महोत्सवमा सहभागी भई विविध स्वाद, स्थानीय संस्कृति र मनोरञ्जनको आनन्द लिन सिद्धार्थ कटेज धनगढीले सबैलाई हार्दिक निमन्त्रणा गरेको छ।

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ