अमेरिका–इरान वार्ता सकारात्मक: ट्रम्पद्वारा पाँच दिनका लागि सैन्य आक्रमण स्थगितको घोषणा

अमेरिका।

संयुक्त राज्य अमेरिका र इरानबीच विगत दुई दिनदेखि जारी वार्ता सकारात्मक दिशातर्फ अघि बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता फलदायी भएको उल्लेख गर्दै इरानका ऊर्जा पूर्वाधारहरूमा भइरहेका सैन्य आक्रमणहरू पाँच दिनका लागि स्थगित गर्ने घोषणा गर्नुभएको छ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत मध्यपूर्वमा जारी शत्रुताको पूर्ण र समग्र समाधानका लागि दुई देशबीच गहन र रचनात्मक छलफल भएको जानकारी दिनुभएको हो। उहाँका अनुसार यो स्थगन अवधिभर वार्तालाई निरन्तरता दिइनेछ र छलफलको सफलताका आधारमा आगामी कदम चालिनेछ। ट्रम्पले ‘अपरेशन एपिक फ्युरी’ सुरु भएयताकै सबैभन्दा नरम र मेलमिलापपूर्ण सन्देश प्रवाह गर्दै युद्ध विभागलाई आक्रमण रोक्न निर्देशन दिइसक्नुभएको छ।

यसअघि इरानको राष्ट्रिय रक्षा परिषद्ले आफ्नो तट वा टापुहरूमा आक्रमण भए फारसको खाडीका सञ्चार लाइनहरूमा विस्फोटक माइन बिछ्याउने चेतावनी दिएको थियो। यस्तै, इरानलाई होर्मुज स्ट्रेट पुनः खोल्न अमेरिकाले दिएको समयसीमा पनि आजै सकिँदै थियो। यसै पृष्ठभूमिमा भएको यो पछिल्लो विकासलाई विश्व राजनीति र अर्थतन्त्रका लागि महत्वपूर्ण मानिएको छ।

ट्रम्पको यस घोषणासँगै विश्व बजारमा सकारात्मक प्रभाव देखिएको छ। कच्चा तेलको मूल्यमा १३ प्रतिशतले गिरावट आएर प्रति ब्यारेल करिब ९६ डलर कायम भएको छ भने अन्तर्राष्ट्रिय सेयर बजारका सूचकांकहरूमा पनि सुधार देखिएको छ। आगामी पाँच दिनसम्म चल्ने यो वार्ताले मध्यपूर्वको तनाव कम गर्ने र स्थायी शान्तिको मार्ग प्रशस्त गर्नेमा विश्व समुदाय आशावादी देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ