कञ्चनपुर ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा नवगठित संघीय सरकारमा सुदूरपश्चिम प्रदेशबाट दुई जना महिलाले प्रतिनिधित्व गर्ने अवसर पाएका छन्। कञ्चनपुर निवासी प्रतिभा रावल र गीता चौधरी मन्त्री नियुक्त भएसँगै सुदूरपश्चिमको राजनीतिक वृत्तमा नयाँ उत्साह थपिएको छ। नवनियुक्त दुवै मन्त्रीहरूले आजै राष्ट्रपति भवनमा आयोजित विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यभार सम्हालेका छन्।
सरकारमा सहभागी दुवै मन्त्री रास्वपाबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधि सभा सदस्य बनेका हुन्। कञ्चनपुरलाई कार्यक्षेत्र र थातथलो बनाएका दुई महिलाले केन्द्रीय मन्त्रीमण्डलमा स्थान पाएपछि यस क्षेत्रको विकास र मुद्दाले राष्ट्रिय तहमा प्राथमिकता पाउने अपेक्षा गरिएको छ।
नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल लामो समय पत्रकारिता क्षेत्रमा सक्रिय रहेर राजनीतिमा होमिएकी व्यक्तित्व हुन्। रास्वपाको सहप्रवक्ताको जिम्मेवारीमा समेत रहेकी रावलले विगत एक दशकभन्दा बढी समय साउथ एसिया चेक, रिपब्लिका र ग्यालेक्सी फोरके टेलिभिजन जस्ता प्रतिष्ठित सञ्चार माध्यममा खोजमूलक पत्रकारिता गरेकी थिइन्। उनको प्रशासनिक सुधार र स्थानीय तहसँगको समन्वयकारी भूमिका कस्तो रहला भन्ने विषयलाई राजनीतिक विश्लेषकहरूले चासोका साथ हेरेका छन्।
यस्तै, कञ्चनपुरकी चौधरी कृषि, वन, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री भएकी छिन् । शुक्लाफाँटा नगरपालिका- ४ की ३३ वर्षीया चौधरी अधिवक्ता हुन् । २०७९ सालको निर्वाचनमा गीता नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा उम्मेदवार बनेकी थिइन् ।कञ्चनपुर क्षेत्र नम्बर २ (१) बाट प्रत्यक्ष चुनाव लड्दा पराजित भइन् । पछि गीता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग जोडिएकी थिइन् ।





