महेन्द्रनगर, कञ्चनपुर ।
यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले सेवाग्राहीलाई हुने अनावश्यक झन्झट, हैरानी र आर्थिक ठगी नियन्त्रण गर्ने उद्देश्यले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेशमा पूर्ण रूपमा रोक लगाएको छ । कार्यालयले एक औपचारिक सूचना जारी गर्दै सेवा प्रवाहलाई पारदर्शी र व्यवस्थित बनाउन यस्तो कडा कदम चालिएको जानकारी दिएको हो ।
कार्यालयका निमित्त प्रमुख रवीन्द्र चौधरीका अनुसार केही व्यक्तिहरूले सवारीसाधनको बीमा गरिदिने, नवीकरण प्रक्रिया मिलाइदिने तथा निरोगिताको प्रमाणपत्र बनाइदिने बहानामा सेवाग्राहीलाई प्रलोभनमा पार्ने गरेको पाइएको छ । यस्ता बिचौलियाहरूले सर्वसाधारणबाट तोकिएको भन्दा बढी अतिरिक्त रकम असुल्ने र विभिन्न बहानामा सास्ती दिने गरेको व्यापक जनगुनासो आएपछि कार्यालयले प्रशासनमा कडाइ गरेको हो ।
बिचौलियाको अनधिकृत हस्तक्षेपका कारण कार्यालयको दैनिक कार्यसम्पादनमा समेत नकारात्मक असर परिरहेको र सेवा प्रवाहमा अनावश्यक ढिलासुस्ती हुने गरेको कार्यालयको निष्कर्ष छ । निमित्त प्रमुख चौधरीले निषेधित क्षेत्रमा प्रवेश गरी सेवाग्राहीलाई दुःख दिने वा अनुचित लाभ लिन खोज्ने जोसुकैलाई पनि तत्काल नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा लेखी पठाइने स्पष्ट पार्नुभएको छ ।
कार्यालयले आफ्ना कामका लागि आउने सेवाग्राहीलाई कुनै पनि व्यक्तिको प्रलोभन वा भ्रममा नपर्न र सिधै सम्बन्धित शाखा वा जिम्मेवार कर्मचारीसँग सम्पर्क राख्न विशेष अनुरोध गरेको छ । सरकारी राजस्वबाहेक अन्य कुनै पनि अतिरिक्त रकम कसैलाई बुझाउनु नपर्ने भन्दै कार्यालयले सेवा लिनका लागि बिचौलियाको सहयोग आवश्यक नरहेको समेत प्रष्ट पारेको छ ।
यस निर्णयको प्रभावकारी कार्यान्वयन भएमा सेवा प्रवाह थप मर्यादित, छिटो र झन्झटमुक्त हुने अपेक्षा स्थानीय समुदायले गरेका छन् ।





