बेलौरी, कञ्चनपुर।
वैदेशिक रोजगारीमा रहेका बेलौरी नगरपालिका क्षेत्रका युवाहरूले आफ्नो जन्मभूमिप्रतिको सामाजिक उत्तरदायित्व वहन गर्दै स्थापना गरेको संस्था ‘वैदेशिक रोजगार, बेलौरी समाज’ ले एक विपन्न मृगौला बिरामीलाई आर्थिक सहयोग प्रदान गरेको छ। कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकामा स्थायी घर भई हाल विभिन्न देशहरूमा कर्मशील रहेका युवाहरूले संगठित भई मानवता, एकता र सेवाको भावनामा आधारित यो सामाजिक अभियान सुरु गरेका हुन्।
संस्थाका अनुसार, बेलौरी क्षेत्रका नागरिकहरूलाई आवश्यक पर्दा मानवीय सहयोग, विपद् व्यवस्थापन, स्वास्थ्य, शिक्षा, खेलकुद तथा विभिन्न सामाजिक अभियानहरू सञ्चालन गर्नु समाजको मुख्य उद्देश्य रहेको छ। देश बाहिर रहे पनि आफ्नो गाउँ–समाजको सुख-दुःखमा सधैँ साथ दिने भावनाले यो अभियान सुरु गरिएको हो। यसै मानवीय सेवाको क्रममा, समाजले युवाहरूबाट स्वैच्छिक रुपमा संकलन गरेको रु. ३० हजार ५० (तीस हजार पचास) आर्थिक सहयोग प्रदान गरेको छ।
यो रकम बेलौरी नगरपालिका वडा नं ५ सोभाताल निवासी मृगौला रोगबाट पीडित शिवराज चौधरीका बुवा जङ्ग बहादुर चौधरीलाई हस्तान्तरण गरिएको छ।





