काठमाडौँ। चैत्र २०।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकभरको प्रशासनिक संयन्त्रलाई चुस्त बनाउने उद्देश्यका साथ सातै प्रदेश र सबै स्थानीय तहसँग स्वीकृत दरबन्दीको एकमुष्ट विवरण माग गरेको छ । मन्त्रालयले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र एकीकृत जनशक्ति प्रक्षेपण तयार पार्ने प्रक्रिया अघि बढाउन यो कदम चालेको हो ।
मन्त्रालयको सङ्गठन विकास शाखाले सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र देशभरका सबै ७ सय ५३ वटा स्थानीय तहलाई छुट्टाछुट्टै परिपत्र जारी गर्दै विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । सचिवस्तरको चैत २० गतेको निर्णयअनुसार प्रदेश अन्तर्गतका सम्पूर्ण निकाय र स्थानीय तहका कर्मचारीहरूको स्वीकृत दरबन्दीको विवरण तीन दिनभित्र मन्त्रालयको इमेल ठेगानामा पठाउन भनिएको छ ।
यसअघि कर्मचारी व्यवस्थापन र जनशक्ति प्रक्षेपणमा एकरूपता नहुँदा सेवा प्रवाहमा समस्या देखिएको भन्दै मन्त्रालयले सातै प्रदेश र स्थानीय तहका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका अन्तर्गतका निकायहरूको यथार्थ अवस्था बुझ्न खोजेको हो । मन्त्रालयका अनुसार प्राप्त विवरणका आधारमा आगामी दिनमा जनशक्ति व्यवस्थापनलाई थप व्यवस्थित र वैज्ञानिक बनाइने लक्ष्य राखिएको छ ।





