जातीय विभेद र सामाजिक बहिष्कार गरेको आरोपमा कञ्चनपुरमा एक जना पक्राउ

कञ्चनपुर

कञ्चनपुरमा सामुदायिक वनको बेवारिसे काठको विषयलाई लिएर उत्पन्न विवादका क्रममा एक दलित समुदायका नागरिकमाथि जातीय भेदभाव, अपमान र सामाजिक बहिष्कार गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पीडितको उजुरीका आधारमा आरोपीलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको हो।

घटना विवरण अनुसार गत यही चैत १७ गते सामुदायिक वनमा गस्ती गर्ने क्रममा फेला परेको बेवारिसे काठ पीडितले सुरक्षाका लागि आफ्नो घरमा ल्याएर राखेका थिए। उक्त काठ आरोपीले कसैको अनुमति बिना पीडितको घरबाट लगेर तस्करलाई बिक्री गरेपछि विवाद सुरु भएको थियो। आफ्नो घरमा राखिएको काठ किन बिक्री गरेको भनी सोधखोज गर्दा आरोपीले उल्टै जातीय अहङ्कार दर्शाउँदै पीडितलाई अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गरेको जाहेरीमा उल्लेख छ।

पीडितले प्रहरीमा दिएको जाहेरी अनुसार आरोपीले ‘तँ दलितले मलाई प्रश्न गर्ने हिम्मत कसरी गरिस्’ भन्दै धम्की दिएका थिए। साथै, सार्वजनिक स्थानमा निस्कासन गर्ने, सामूहिक बहिष्कार गर्ने र ‘मलाई नछुनु, छोएमा ठीक पारिदिनेछु’ भन्दै जातीय आधारमा शारीरिक तथा मानसिक यातना दिएको दाबी गरिएको छ। छुवाछुत र भेदभावपूर्ण व्यवहार गरी मानव अधिकारको उल्लङ्घन गरेको भन्दै पीडितले न्यायका लागि प्रशासनको सहयोग मागेका हुन्।

उक्त अमानवीय व्यवहारका विरुद्ध पीडितले चैत २४ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा औपचारिक जाहेरी दर्ता गराएका थिए। जाहेरी दर्ता भएसँगै प्रहरीले आरोपीलाई  नियन्त्रणमा लिएर हिरासतमा राखेको छ। हाल निजमाथि जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन बमोजिम थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया पुरा गरी मुद्दा चलाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ