कञ्चनपुर ।
जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत कञ्चनपुरबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पुनर्वासबाट पक्राउ गरेको छ । १८ वर्षअघि अदालतले कैद सजाय सुनाएका पुनर्वास नगरपालिका वडा नम्बर २, अमरैया बस्ने ५४ वर्षीय बुरु भन्ने बिरा रानालाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त प्रहरी टोलीले रानालाई उनकै घर ठेगानाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । विसं २०६४ साल जेठ २० गते जिल्ला अदालत कञ्चनपुरले निज रानालाई जबरजस्ती करणी सम्बन्धी मुद्दामा तीन वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो । अदालतको फैसला पश्चात् सजाय भुक्तान नगरी फरार रहँदै आएका रानालाई विशेष सूचनाका आधारमा प्रहरीले १८ वर्षपछि कानुनी दायरामा ल्याउन सफल भएको हो ।
पक्राउ परेका रानामाथि आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिने र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।





