धनगढी, १२ वैशाख (कञ्चन आवाज) ।

नेपाल इट्टा उद्योग महासङ्घले आफ्नो स्थापनाको १९ औँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा सुदूरपश्चिम प्रदेश समितिले मानवीय सेवाका साथ स्थापना दिवस मनाएको छ । शनिबार धनगढी ४, तारानगरस्थित मानव सेवा आश्रममा आश्रित असहाय तथा बेसहारा व्यक्तिहरूलाई फलफूल वितरण गरी महासङ्घले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गरेको हो ।

महासङ्घका सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष बलदेव सिंह बुडालको अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रममा महासङ्घका केन्द्रीय निवर्तमान अध्यक्ष शंकर बहादुर चन्द मुख्य अतिथिका रूपमा रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चन्दले व्यावसायिक संस्था केवल नाफा र व्यवसायमा मात्र सीमित नभई समाजका असाहाय वर्गको सारथि बन्नुपर्नेमा जोड दिनुभयो ।

स्थापना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा महासङ्घको केन्द्रीय तथा प्रदेश तहका नेतृत्वको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा केन्द्रीय सल्लाहकार सदस्य शिव राज पाण्डे, केन्द्रीय सचिव कृष्ण बहादुर तामाङ, केन्द्रिय सदस्य रमेश विष्ट लगायत प्रदेश कार्यसमितिका सदस्यहरू र सुदूरपश्चिमका विभिन्न इँटा उद्योगीहरूको समेत सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै महासङ्घका सुदूरपश्चिम प्रदेश वरिष्ठ उपाध्यक्ष मुक्ति सुवेदीले १९ वर्षको व्यावसायिक यात्रामा महासङ्घले उद्योगको हकहितका साथै मानवीय सेवाका कार्यलाई पनि प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।
अध्यक्ष बलदेव सिंह बुडालले इँटा उद्योगीहरू भौतिक निर्माणको आधार स्तम्भ मात्र नभई सामाजिक उत्तरदायित्व वहन गर्न पनि उत्तिकै सचेत रहेको बताउनुभयो । स्थापना दिवसका अवसरमा आश्रममा रहेका बुवाआमा र दाजुभाइहरूसँग खुसी साटासाट गर्न पाउनु संस्थाका लागि गौरवको विषय भएको उहाँको भनाइ थियो ।

आश्रम व्यवस्थापनले इँटा उद्योगीहरूको यो मानवीय कदमको प्रशंसा गर्दै आभार व्यक्त गरेको छ । १९ वर्षअघि स्थापित महासङ्घले इँटा उद्योगको प्रवर्द्धन, श्रमिकको हकहित र सामाजिक रूपान्तरणका क्षेत्रमा काम गर्दै आएको छ ।





