शहिद दशरथ पुस्तकालयको १०औँ अधिवेशन सम्पन्न: चन्द्रप्रसाद पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत

बेलौरी, कञ्चनपुर । कञ्चनपुरको बेलौरीस्थित सुदूरपश्चिम प्रदेशकै अग्रणी साहित्यिक, शैक्षिक तथा बौद्धिक धरोहरका रूपमा रहेको ऐतिहासिक शहिद दशरथ पुस्तकालयको १०औँ अधिवेशन आज जेष्ठ ९ गते पुस्तकालयकै प्राङ्गणमा भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि चन्द्रप्रसाद पोखरेलको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

अधिवेशनका क्रममा पुस्तकालयका सल्लाहकार, प्रबुद्ध बुद्धिजीवी एवं महाकाली माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक प्रेम सिंह बोहराले संस्थाको गौरवशाली इतिहास स्मरण गराउनुभयो। उहाँले भन्नुभयो:

यो पुस्तकालय यस क्षेत्रकै एउटा ठूलो बौद्धिक केन्द्र हो। एउटा सुखद र ऐतिहासिक संयोग के छ भने, वि.सं. २०३६ साल माघ १६ गते शहीद दिवसको पावन अवसरमा यसको परिकल्पना गरेर हामीहरूले यस संस्थाको जग बसालेका हौँ। यसको इतिहास आफैँमा गौरवपूर्ण छ।

यसै गरी पुस्तकालयका पूर्व अध्यक्ष एवं विशिष्ट सल्लाहकार हर्क सिंह कुँवरले शहीदहरूको नाम र मर्म जोडिएको यस संस्थाको गरिमालाई उच्च राख्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो:

महान शहीदहरूको सम्झना यस क्षेत्रमा सदैव रहिरहोस् र समाजमा विद्या एवं सामुदायिक चेतना फैलियोस् भन्ने उद्देश्यले यसको स्थापना भएको हो। बिचमा केही समय कार्य योजनाहरूमा विलम्ब हुन पुगेको सत्य हो, तर अबको सक्षम समितिले विगतका कमीकमजोरीहरूलाई सच्याउँदै, भौतिक तथा आर्थिक व्यवस्थापनलाई चुस्त बनाएर समय अनुकूल अगाडि बढ्नेछ। यसमा हाम्रो पूर्ण सहयोग रहनेछ।

निर्वाचन प्रक्रियालाई निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि तारामणि न्यौपानेको संयोजकत्वमा गंगा प्रसाद रिजाल र चन्द्रदेव रिजाल सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। सो समितिले सर्वसम्मत रूपमा निर्वाचित नयाँ पदाधिकारी तथा सदस्यहरूको नामावली सार्वजनिक गरेको हो।

घोषणा अनुसार ११ सदस्यीय समितिमध्ये हाल १० जनाको कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ भने बाँकी १ सदस्य नयाँ कार्यसमितिको आगामी बैठकबाट मनोनित गरिनेछ। नवनिर्वाचित कार्यसमिति यस बमोजिम रहेको छ।  अध्यक्ष: चन्द्रप्रसाद पोखरेल, उपाध्यक्ष डिल्ली प्रसाद खरेल, सचिव सुरज श्रेष्ठ, सहसचिव अशोक पाण्डेय, कोषाध्यक्ष नरेश पन्त, सदस्यहरु मिना कुँवर, चित्रकला गैरे, चन्द्र सिंह विष्ट, डम्बर चन्द र  माधव पौडेल।

अध्यक्ष पदमा निर्वाचित भएलगत्तै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद पोखरेलले आफूले एउटा ठूलो र गरिमामय जिम्मेवारी महसुस गरेको बताउनुभएको छ। पुस्तकालयको आगामी कार्ययोजना र व्यवस्थापनबारे प्रष्ट पार्दै अध्यक्ष पोखरेलले भन्नुभयो:

हामी यस क्षेत्रका अग्रजहरू, सिङ्गो कार्यसमिति, मिडिया मित्रहरू, आदरणीय समाजसेवी तथा बुद्धिजीवीहरूको सुझाव र सल्लाहलाई ग्रहण गर्दै क्रमिक रूपमा अगाडि बढ्नेछौँ। पुस्तकालयको विकासका लागि तत्कालै विभिन्न पालिका स्तरदेखि लिएर अन्य सरोकारवाला क्षेत्रहरूमा आवश्यक मागपत्र र योजनाका प्रपोजलहरू पेश गर्ने हाम्रो तयारी छ। यसलाई भौतिक र शैक्षिक रूपमा रूपान्तरित गर्दै अहिलेको डिजिटल युग सुहाउँदो उत्कृष्ट ‘लाइब्रेरी’ का रूपमा प्रमोट गर्ने हाम्रो मुख्य उद्देश्य रहनेछ।

कार्यक्रममा विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरू, सल्लाहकारहरू र पत्रकारहरूको व्यापक उपस्थिति रहेको थियो।कार्यक्रमको समापन गर्दै निवर्तमान अध्यक्ष मधुविलास ढुङ्गानाले आफ्नो कार्यकालमा अहोरात्र खटिने गुरुवर्ग, सल्लाहकार, कार्यसमिति, निर्वाचन मण्डल र पत्रकारहरूलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो। साथै, कार्यकालका दौरान जानअन्जानमा भएका कमीकमजोरीहरू प्रति आफ्नो तर्फबाट क्षमा याचना गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ