धनगढी, कैलाली।
सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मी बिकले दार्चुला जिल्लामा घटेका गम्भीर सामाजिक तथा आपराधिक घटना र हालैको प्राकृतिक विपत्तिले पुर्याएको क्षतिप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । प्रदेश सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद बिकले जिल्लाको शान्ति सुरक्षा, नागरिकको जीउधनको रक्षा र पीडितहरूलाई तत्काल राहत उपलब्ध गराउन संसद्मार्फत सरकारसँग जोडदार माग गर्नुभएको हो ।
बैठकमा सम्बोधन गर्दै सांसद बिकले जेठ ४ गते दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर ४ स्थित संपाल माध्यमिक विद्यालय, सुनसेराका शिक्षक बलदेव धामीको आत्महत्याको दुःखद घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो । समाजका मार्गदर्शक मानिने शिक्षकहरू वर्तमान आर्थिक, सामाजिक तथा मानसिक दबाब र विसङ्गतिका कारण यस्तो चरम कदम चाल्न बाध्य हुनु अत्यन्तै दुःखद भएको बताउँदै उहाँले यस घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि हदैसम्मको कानुनी कारबाही गर्न माग गर्नुभयो ।
यसैगरी सोही विद्यालयमा अध्ययनरत एक १४ वर्षीया नाबालिकामाथि भएको बलात्कार र त्यसपछिको गर्भधारणको संवेदनशील घटनाबारे जानकारी दिँदै उहाँले अपराधीहरूको पहिचानका लागि तत्काल कानुनी र प्राविधिक अनुसन्धान प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभयो । यस्ता जघन्य अपराधमा संलग्न दोषीलाई कानुनी कठघरामा उभ्याउन र समाजमा व्याप्त असुरक्षाको भावनालाई न्यूनीकरण गर्न सरकारले तत्काल विशेष कदम चाल्नुपर्ने उहाँको भनाइ थियो । उहाँले समग्र शिक्षा प्रणाली र सामाजिक संवेदनशीलताको रक्षाका लागि शिक्षक तथा आम नागरिकको आत्मसम्मान र सुरक्षाको पूर्ण प्रत्याभूति हुनुपर्नेमा जोड दिनुभयो ।
दार्चुलामा हालै आएको प्राकृतिक विपत्तिको प्रसङ्ग उल्लेख गर्दै सांसद बिकले जेठ ८ गतेको भीषण हावाहुरीले जिल्लाभर व्यापक क्षति पुर्याएको संसद्लाई जानकारी गराउनुभयो । हावाहुरीका कारण स्थानीयका घरगोठ भत्किएका, विद्युत तथा सञ्चार सेवा अवरुद्ध भएका र स्थानीय बालीनाली पूर्ण रूपमा नष्ट हुँदा सर्वसाधारणको जनजीवन अस्तव्यस्त बनेको उहाँले बताउनुभयो । विपद्को समय बितिसक्दा पनि पीडितले अझैसम्म उचित राहत र पुनःस्थापनाको सहयोग नपाएको भन्दै उहाँले सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
सांसद बिकले भविष्यमा आउन सक्ने यस्ता आकस्मिक विपद्को समयमा स्थानीय तहहरूलाई समेत पूर्वतयारीको अवस्थामा राख्न र आवश्यक व्यवस्थापनका लागि प्रदेश सरकारले ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याउनुभयो । दीर्घकालीन रूपमा विपद् जोखिम न्यूनीकरण, सुरक्षित पूर्वाधार निर्माण र प्रभावकारी विपद् व्यवस्थापनका लागि सरोकारवाला सबै जिम्मेवार हुनुपर्ने निष्कर्ष उहाँको थियो ।





