बेलौरी, कञ्चनपुर, १२ जेठ ।
कञ्चनपुरको बेलौरी नगरपालिकामा भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएका करिब चार लाख रुपैयाँ मूल्य बराबरका बोइलर कुखुरा प्रहरीले बरामद गरी नष्ट गरेको छ।
इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्र बहादुर धामीको कमाण्डमा खटिएको प्रहरी टोलीले आज बिहान साढे छ बजे बेलौरी नगरपालिका वडा नम्बर २ टेडुवा स्थित सडक खण्डबाट उक्त कुखुरा नियन्त्रणमा लिएको हो। भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार एवम् क्वारेन्टाइन छली ल्याई बेवारिसे अवस्थामा राखिएको करिब चार क्विन्टल बोइलर कुखुरा फेला पारिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रतिनिधि प्रहरी वरिष्ठ नायब निरीक्षक वीरसिंह धामीले जानकारी दिनुभयो।
बरामद गरिएका ती कुखुराहरूलाई सरोकारवाला निकाय, सञ्चारकर्मी तथा स्थानीय प्रतिनिधिहरूको रोहवरमा इलाका प्रहरी कार्यालय बेलौरीको भवन पूर्वपट्टि रहेको खाली जमिनमा खाडल खनेर पुरेर नष्ट गरिएको छ।
कुखुरा नष्ट गर्ने प्रक्रियामा इलाका प्रहरी कार्यालय बेलौरीका प्रतिनिधि प्रहरी वरिष्ठ नायब निरीक्षक वीरसिंह धामी, पशु क्वारेन्टाइन चेकपोस्ट बेलौरीका प्रतिनिधि, बेलौरी उद्योग वाणिज्य संघका प्रतिनिधि बसन्त पुन मगर, कञ्चन आवाज अनलाइनका प्रतिनिधि सूरज श्रेष्ठ र सुदूर डायरी अनलाइनका प्रतिनिधि केशव भट्ट लगायतको उपस्थिति रहेको थियो।





