बेलौरी, कञ्चनपुर ।
कञ्चनपुरको बेलौरी नगरपालिकाले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा नगरभित्रका विभिन्न शैक्षिक संस्थाहरूमा अध्ययनरत दलित समुदायका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ। बेलौरी नगरपालिकाको सभाहलमा जेठ २१ गते बिहीबार आयोजित एक विशेष समारोहका बीच उक्त छात्रवृत्ति रकम हस्तान्तरण गरिएको हो।

नगर कार्यपालिकाका प्रवक्ता हर्क बहादुर भुलको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी प्रमुख अतिथि तथा नगर उपप्रमुख जोगराम चौधरी विशिष्ट अतिथि रहनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि नगरप्रमुख चौधरीले समाजमा व्याप्त जातीय विभेद र छुवाछुत जस्ता सामाजिक कुप्रथाहरूको पूर्ण अन्त्यका लागि शिक्षा नै सबैभन्दा सशक्त माध्यम भएको उल्लेख गर्नुभयो। उहाँले स्थानीय सरकार लक्षित र विपन्न वर्गका विद्यार्थीहरूको शैक्षिक अधिकार सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको र आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई थप प्रभावकारी बनाइने बताउनुभयो।

त्यस्तै विशिष्ट अतिथि एवं नगर उपप्रमुख जोगराम चौधरीले विभेदमुक्त र सभ्य समाज निर्माणका लागि शैक्षिक रूपान्तरण अनिवार्य शर्त रहेको धारणा राख्नुभयो। सो अवसरमा आमन्त्रित स्थानीय सरोकारवाला तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूले विपन्न दलित विद्यार्थीहरूलाई लक्षित गरी प्रदान गरिएको यस प्रोत्साहनमूलक सहयोगको प्रशंसा गर्दै यसले विद्यार्थीहरूको विद्यालय ड्रपआउट दर कम गर्न र शैक्षिक निरन्तरता दिन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्राप्त आधिकारिक विवरण अनुसार नगरपालिकाले नगरभित्रका सातवटा शैक्षिक संस्थाहरूलाई छात्रवृत्ति रकम उपलब्ध गराएको छ। उक्त विवरण अनुसार महाकाली बहुमुखी क्याम्पसका ७ जना विद्यार्थीका लागि कुल ७० हजार रुपैयाँ र अन्य क्याम्पसका ५ जना विद्यार्थीका लागि ५० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको छ। यसैगरी महाकाली माविका २० जना विद्यार्थीका लागि कुल १ लाख २० हजार रुपैयाँ उपलब्ध गराइएको छ।

यसका साथै शान्ति माध्यमिक विद्यालयका ८ जना विद्यार्थीका लागि ४८ हजार रुपैयाँ, प्राविधिक तर्फ २ जनालाई ३० हजार रुपैया, त्रिभुवन माध्यमिक विद्यालयका ८ जना विद्यार्थीका लागि ४८ हजार रुपैयाँ र लक्ष्मी माध्यमिक विद्यालयका १३ जना विद्यार्थीका लागि कुल ७८ हजार रुपैयाँ छात्रवृत्ति रकम वितरण गरिएको छ।
सोही अवसरमा आफ्नो पाँच वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरी नगरको जग बसाल्न अतुलनीय योगदान पुर्याएका दलित समुदायका पूर्व स्थानीय जनप्रतिनिधिहरूलाई उहाँहरूले पुर्याउनुभएको कदर गर्दै दोसल्ला ओढाएर सम्मान पत्रसहित विशेष सम्मान गरिएको थियो।

स्थानीय तहबाट जातीय विभेद उन्मूलनको सन्दर्भ पारेर गरिएको यस किसिमको वित्तीय तथा शैक्षिक सहयोगले बालबालिकाहरूको विद्यालय पहुँच र उच्च शिक्षाको निरन्तरतामा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने देखिन्छ।





