बेलौरी , कञ्चनपुर। जेठ २२।
कञ्चनपुरको बेलौरी नगरपालिकामा स्थानीय नागरिकलाई विपद्को समयमा सक्षम र आत्मनिर्भर बनाउने तालिम समापन भएको छ। स्थानीय समुदायको क्षमता अभिवृद्धि गरी संकटका बेला मानवीय जीवनको रक्षा गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको २१ दिने समुदाय विपद् स्वयंसेवक तालिम शुक्रबार एक विशेष समारोहका बीच भव्य रूपमा सम्पन्न भएको हो। सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण हेडक्वार्टर शैलेश्वरी, कञ्चनपुरको आयोजना तथा बेलौरी नगरपालिकाको समन्वय र सहकार्यमा सञ्चालित यस तालिमले नगरका विभिन्न वडाहरूबाट छनोट भएका २९ जना स्वयंसेवकहरूलाई समाजसेवाको एउटा नयाँ र जिम्मेवार भूमिकामा उभ्याएको छ। तालिमका क्रममा उनीहरूलाई भूकम्प, बाढी, र आगलागी जस्ता प्राकृतिक तथा भवितव्य विपद्का समयमा खोज तथा उद्धार गर्ने, प्राथमिक उपचार उपलब्ध गराउने, विपद् व्यवस्थापन र सुरक्षा निकायसँग प्रभावकारी समन्वय गर्ने सम्बन्धी व्यावहारिक एवं जीवनोपयोगी सीपहरू प्रदान गरिएको थियो।
समापन समारोहमा विशिष्ट अतिथिको रूपमा मन्तव्य राख्दै नम्बर ७ वैद्यनाथ बाहिनी सुदूरपश्चिम प्रदेशका प्रमुख, सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) दिगविजय सुवेदीले नवदीक्षित स्वयंसेवकहरूको हौसला बढाउनुभएको थियो। सुवेदीका अनुसार, कुनै पनि स्थानमा अचानक विपद् आइपर्दा सुरक्षा निकाय तुरुन्तै घटनास्थलमा पुग्न नसक्ने व्यावहारिक बाध्यता हुन सक्ने भएकाले स्थानीय समुदाय नै संकटको पहिलो उद्धारकर्ता अर्थात् ‘फस्ट रेस्पोन्डर’ बन्नुपर्छ। डिआईजी सुवेदीले नेपाल सरकारको राष्ट्रिय अवधारणा अनुरूप सशस्त्र प्रहरीले यो विशेष पाठ्यक्रम तयार पारेको उल्लेख गर्दै संकटको घडीमा स्थानीय समुदायले प्रारम्भिक उद्धार सम्हाल्ने र त्यसपछि सुरक्षा निकायहरूले ‘की रेस्पोन्डर’ का रूपमा मुख्य प्राविधिक उद्धारको कमाण्ड सम्हाल्ने उत्कृष्ट सहकार्यको ढाँचा प्रष्ट पार्नुभयो। उहाँले कञ्चनपुर जिल्लाभर छरिएर रहेका करिब ११० जना समुदाय विपद् स्वयंसेवक र सशस्त्र प्रहरीले तयार पारेका करिब २५०० विपद् सूचकहरू सम्बन्धित पालिकाका अमूल्य सम्पत्ति भएको बताउँदै उनीहरूलाई स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र (LEOC) मार्फत संस्थागत गरी सधैँ सम्पर्क र उत्प्रेरणामा राख्न पालिकाहरूलाई आग्रह समेत गर्नुभयो।
तालिममा सिकेको सीप र ज्ञानलाई केवल प्रशंसापत्रमा मात्र सीमित नराखी आफ्ना वडा, स्थानीय क्लब र विद्यालय तहसम्म पुऱ्याएर थप नागरिकलाई सचेत बनाउन डिआईजी सुवेदीले मार्गदर्शन गर्नुभयो। गाउँघरमा उपलब्ध फायर एक्स्टिंग्विसर र लाइफ ज्याकेट जस्ता उपकरणहरू सही समयमा प्रयोग गरेर सम्भावित ठुलो मानवीय र भौतिक क्षति कम गर्न सकिने र ‘म कसैको ज्यान जोगाउन सक्छु’ भन्ने पवित्र भावना मनमा राखेर फिल्डमा उत्रिँदा नै यस तालिमको वास्तविक सार्थकता झल्किने उहाँको भनाइ थियो।
बेलौरी नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरीको सभापतित्व तथा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिंह सार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा उपप्रमुख जोगिराम चौधरी, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि र पत्रकारहरूको उपस्थिति रहेको थियो। कञ्चनपुरको बेलौरी, झलारी र देवीथान जस्ता विभिन्न रणनीतिक बेसहरूमा सशस्त्र प्रहरी विपद् उद्धारका लागि सधैँ चनाखो रहेको अवस्थामा अब स्थानीय स्तरमै उत्पादित यी दक्ष स्वयंसेवकहरूको उपस्थितिले समग्र नगर क्षेत्रमा सुरक्षा र आत्मबलको एउटा सुखद र भरपर्दो वातावरण सिर्जना गरेको डीआइजी सुवेदीको भनाइ थियो।





