बेलौरी, कञ्चनपुर ।
सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा सुदूरपश्चिम प्रदेशको धनगढी निवासी वरिष्ठ पत्रकार हिक्मतबहादुर रावललाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार क्षेत्रमा लामो अनुभव सँगालेका रावललाई संस्थानको सर्वोच्च प्रशासनिक नेतृत्वको जिम्मेवारी दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले रावललाई महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए। यसअघि मन्त्रालयले खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत महाप्रबन्धकका लागि आवेदन दिएका उम्मेदवारहरूमध्ये योग्यता र कार्यक्षमताका आधारमा उत्कृष्ट १० जनाको संक्षिप्त सूची प्रकाशित गरेको थियो। सोही सूचीमा परेका आकांक्षीहरूमध्येबाट सरकारले रावललाई आगामी कार्यकालका लागि चयन गरेको हो।
नवनियुक्त महाप्रबन्धक रावल विगत लामो समयदेखि सुदूरपश्चिम क्षेत्रलाई मुख्य कार्यथलो बनाएर राष्ट्रिय सञ्चारमाध्यमहरूमा सक्रिय रहँदै आएका छन्। उनले यसअघि एभिन्युज टेलिभिजन र न्युज २४ टेलिभिजनको सुदूरपश्चिम ब्युरो प्रमुखका रूपमा कुशलतापूर्वक कार्यसम्पादन गरिसकेका छन्। त्यसैगरी, उनले ग्यालेक्सी टेलिभिजन र पछिल्लो समय विश्वप्रसिद्ध सञ्चारमाध्यम बीबीसी नेपाली सेवामा समेत आबद्ध रहेर आफ्नो सबल व्यावसायिक पहिचान स्थापित गरेका थिए।





