बेलौरी, कञ्चनपुर।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ९ कालिकावस्ती स्थित झरना सागर खोलामा पौडी खेल्ने क्रममा एक किशोरी बेपत्ता भएकी छिन्। स्थानीय शिवु तिरुवाकी १४ वर्षीया छोरी गरिमा तिरुवा बिहीबार साँझ साढे छ बजेतिर खोलामा पौडी खेल्ने क्रममा अचानक बेपत्ता भएकी हुन्।
किशोरी खोलामा बेपत्ता भएलगत्तै बुबाआमा र स्थानीय बासिन्दाहरूले स्वतःस्फूर्त रूपमा तत्काल खोजतलास सुरु गरेका थिए। तर, साँझको समय र खोलाको गहिराइका कारण अथक प्रयास गर्दा पनि फेला पार्न नसकेपछि स्थानीयबासीले सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकी (बीओपी) भुडामा घटनाबारे जानकारी गराएका थिए।
सूचना प्राप्त हुनासाथ बीओपी भुडाबाट सशस्त्र प्रहरी निरीक्षक जीतबहादुर ओलीको कमान्डमा १० जना र इलाका प्रहरी कार्यालय बेलडाँडीबाट प्रहरी निरीक्षक जयबहादुर पार्कीको कमान्डमा ८ जना गरी १८ जनाको संयुक्त सुरक्षा टोली घटनास्थलमा परिचालित भएको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उक्त संयुक्त टोलीले साँझ ७ बजेदेखि नै खोलामा उद्धार तथा खोजी कार्य सुरु गरेको छ। खोजी कार्य जारी राखेको भए पनि तीव्र बहाव र प्रतिकूल समयका कारण बेपत्ता किशोरी हाल सम्म फेला नपरेको सुरक्षा स्रोतले जनाएको छ।





