बेलौरी, कञ्चनपुर।
कञ्चनपुरको बेलौरी नगरपालिकामा व्याप्त कुशासनको अन्त्य, सुशासनको सुनिश्चितता र जनउत्तरदायी सेवा प्रवाहको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बेलौरी नगर समितिले १२ बुँदे मागपत्र बुझाएको छ।रास्वपाका बेलौरी नगर सभापति विष्णु शर्मा न्यौपाने लगायत विभिन्न तह र तप्काका नेताहरूको उपस्थिति रहेको प्रतिनिधि मण्डलले बेलौरी नगरपालिकाका नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई छुट्टाछुट्टै भेटेर औपचारिक रूपमा आफ्ना माग तथा आम नागरिकका गुनासाहरू प्रस्तुत गरेको हो।

स्थानीय नागरिकले पटक-पटक उठाएका गुनासा, जनप्रतिनिधिप्रतिको बढ्दो निराशा र स्थानीय सरकारको कमजोर नियमन एवं अनुगमनका कारण आधारभूत सेवासमेत प्रभावकारी हुन नसकेको यथार्थप्रति रास्वपाले नगरपालिकाको गम्भीर ध्यानाकर्षण गराएको छ। स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भए तापनि विगतका वर्षहरूमा सुशासन, पारदर्शिता, सेवा प्रवाह र सार्वजनिक सम्पत्तिको संरक्षणमा अपेक्षित सुधार हुन नसकेको उनीहरूको ठहर छ।

नगरको समग्र विकास र सुधारका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न १२ बुँदे महत्त्वपूर्ण मागहरू अघि सारेको छ। रास्वपाले निजी तथा सामुदायिक विद्यालयको नियमित अनुगमन गरी शुल्क, गुणस्तर र कानुनी मापदण्ड कडाइका साथ कार्यान्वयन गर्न तथा विवरण नबुझाउने विद्यालयहरूसँग स्पष्टीकरण माग गर्न आग्रह गरेको छ। स्वास्थ्य क्षेत्रमा हुने मनपरी शुल्क, लापरवाही र अनियमितता रोकी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न तथा निजी क्लिनिकमा मात्र उपचार गर्न बाध्य हुने परिस्थितिको अन्त्य गर्न जोड दिइएको छ।

खानेपानीको गुणस्तर नियमित परीक्षण गरी प्रतिवेदन सार्वजनिक गर्न तथा पालिका अन्तर्गतका अन्य स्रोतहरूसँग अन्तर्सम्बन्ध कायम गरी रिजर्वायर बनाई सहज आपूर्तिको व्यवस्थापन गर्न भनिएको छ भने सफा, स्वस्थ र व्यवस्थित बेलौरी निर्माणका लागि प्रभावकारी फोहोर व्यवस्थापन प्रणाली लागू गर्न, डम्पिङ साइटको व्यवस्थापन गर्न र उदाउँदा स्थानीय बजारहरूमा समेत डस्टबिनको व्यवस्था गर्न माग गरिएको छ। वन, नदी, तालतलैया, पार्क तथा सार्वजनिक जग्गाको अतिक्रमण रोक्न ठोस योजना लागू गर्दै वास्तविक रूपमा तारबार र सौन्दर्यीकरणको कार्य अघि बढाउनुका साथै जीर्ण सडकहरूको तत्काल मर्मत गर्न र बजारभित्र अधुरा रहेका वा सुरु नै हुन नसकेका आयोजनाहरूलाई समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्न आग्रह गरिएको छ।

यसैगरी, नेपाल प्रहरी र सम्बन्धित निकायसँग समन्वय गरी तस्करी, अवैध कारोबार र आपराधिक गतिविधि नियन्त्रण गर्न, उद्यमी-व्यवसायीमैत्री स्पष्ट सूचनापाटी राखेर नियमन गर्न तथा नगरपालिकामा प्रभावकारी गुनासो व्यवस्थापन प्रणाली स्थापना गर्न माग गरिएको छ। गुनासो सुन्ने अधिकारी आफैं गुनासोको पोको बनेको व्यापक जनगुनासोप्रति सचेत गराउँदै रास्वपाले सार्वजनिक खेलमैदान सबैका लागि खुला गर्न, सार्वजनिक व्यायामशाला स्थापना गर्न र कार्यकर्ता एवं समर्थक व्यवस्थापनमा मात्र सीमित नभई खेलकुद क्षेत्रमा वास्तविक लगानी बढाउन जोड दिएको छ। यसका साथै सम्पूर्ण खरिद प्रक्रियालाई खुला, प्रतिस्पर्धात्मक र पारदर्शी बनाई सार्वजनिक जानकारी उपलब्ध गराउन, नगरपालिकाका सबै शाखा, योजना तथा सेवाको नियमित अनुगमन गरी प्रगति विवरण सार्वजनिक गर्न तथा माथिल्लो निकायलाई मात्र दोष दिने प्रवृत्ति अन्त्य गरी आफ्नै अधिकारभित्रका जिम्मेवारी पूर्ण इमानदारीका साथ निर्वाह गर्दै सहुलियत र अनुदानको दुरुपयोग रोक्न जोडदार माग गरिएको छ।

यस मागपत्रलाई गम्भीरतापूर्वक ग्रहण गरी स्पष्ट कार्ययोजना, समयसीमा र सार्वजनिक प्रतिबद्धतासहित तत्काल कार्यान्वयन प्रक्रिया अघि बढाउन नगरपालिका समक्ष अनुरोध गरिएको छ र यदि यी जायज मागहरूलाई बेवास्ता गरिएमा नागरिक हकअधिकारको संरक्षणका लागि लोकतान्त्रिक र शान्तिपूर्ण दबाबमूलक कार्यक्रमहरू सञ्चालन गर्न रास्वपा बेलौरी नगर समिति बाध्य हुने चेतावनी समेत दिइएको छ।






