घटाल बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्घाटन, शिक्षासेवीहरू सम्मानित

बेदकोट, कञ्चनपुर, असार २६।

घटाल बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्घाटन तथा सम्मान कार्यक्रम शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूलाई सम्मान गर्नुका साथै क्याम्पसको भावी शैक्षिक योजना सार्वजनिक गरिएको छ।

कार्यक्रमको सभापतित्व क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नारायण बोहराले गर्नुभएको थियो भने बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहरा प्रमुख अतिथि र क्याम्पसका संस्थापक अध्यक्ष हरि बोहरा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमको सञ्चालन बीबीएस तृतीय वर्षकी छात्रा पूजा साउदले गर्नुभएको थियो।

कार्यक्रममा उदयदेव माध्यमिक विद्यालयका प्रधानाध्यापक गजेन्द्र के.सी., घटाल माध्यमिक विद्यालयका प्रधानाध्यापक सागर शर्मा, भुवनेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक रणबहादुर दौल्याल तथा बालजागृति विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर चन्दलाई शिक्षा क्षेत्रमा उल्लेखनीय योगदानको कदर गर्दै सम्मान गरिएको थियो। साथै, विशिष्ट अतिथि हरि बोहरा र प्रमुख अतिथि एवं नगरप्रमुख भोजराज बोहरालाई क्याम्पसका तर्फबाट अभिनन्दन गरिएको थियो।

स्वागत मन्तव्यका क्रममा क्याम्पस प्रमुखले घटाल बहुमुखी क्याम्पसलाई प्रविधिमैत्री तथा डिजिटल शिक्षाको नमुना क्याम्पसका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो। उहाँले त्रिभुवन विश्वविद्यालय अन्तर्गत बीबीए कार्यक्रम सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिँदै चालु शैक्षिक सत्रदेखि सामादैजी र सुडा दुवै केन्द्रबाट नियमित पठनपाठन सञ्चालन गरिने बताउनुभयो।

उहाँले औपचारिक शिक्षासँगै कम्प्युटर, डिजिटल सीप, एप्लिकेसन तथा वेबसाइट विकासलगायतका व्यावसायिक सीपमूलक कार्यक्रम सञ्चालन गरी विद्यार्थीलाई दक्ष र प्रतिस्पर्धी जनशक्ति बनाउने योजना रहेको उल्लेख गर्नुभयो। क्याम्पसको समग्र विकासका लागि आगामी १० वर्षसम्म दैनिक कम्तीमा १२ घण्टा समय समर्पित गर्ने प्रतिबद्धता जनाउँदै उहाँले अभिभावक, शिक्षक, विद्यार्थी, स्थानीय तह तथा शुभेच्छुकहरूको साथ र सहयोग आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै बैजनाथ माध्यमिक विद्यालय, जडेपानीका प्रधानाध्यापकले बेदकोट नगरपालिकालाई उच्च शिक्षाको केन्द्र (Higher Education Hub) का रूपमा विकास गर्न सबै सरोकारवाला एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

बालजागृति विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर चन्दले निजी क्षेत्रमा आबद्ध रहे पनि सामुदायिक विद्यालय र सामुदायिक क्याम्पसको विकासका लागि आवश्यक सहयोग गर्न सधैं तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।

विशिष्ट अतिथि हरि बोहराले क्याम्पसको शैक्षिक, भौतिक तथा संस्थागत विकासमा आफूबाट आवश्यक सहयोग निरन्तर रहने बताउनुभयो।

प्रमुख अतिथि तथा नगरप्रमुख भोजराज बोहराले छोटो अवधिमै क्याम्पसले हासिल गरेको प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा पनि नगरपालिकाबाट आवश्यक सहकार्य र सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको समापन गर्दै सभापति नारायण बोहराले घटाल बहुमुखी क्याम्पसलाई जिल्लाकै उत्कृष्ट सामुदायिक उच्च शैक्षिक संस्थाका रूपमा स्थापित गर्ने लक्ष्यका साथ निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले क्याम्पसको दिगो विकासका लागि सबै पक्षको साझा प्रयास, एकता र सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थी, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ