विगतका बेथिति अन्त्य गर्दै फास्ट ट्र्याकबाट बजेट आउँछ : मुख्यमन्त्री भट्ट

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विगतका बेथिति र ढिलासुस्तीलाई अन्त्य गर्दै प्रदेश सरकारले फास्ट ट्र्याकबाट नयाँ बजेट ल्याउने उद्घोष गर्नुभएको छ। नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले प्रदेशमा देखिएको बजेटविहीनताको अवस्था छिट्टै अन्त्य हुने र जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी बजेटको पुनर्लेखन भइरहेको जानकारी दिनुभएको हो।

मुख्यमन्त्री भट्टले जनताको वास्तविक आवश्यकतालाई केन्द्रमा राखेर जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयलाई नयाँ बजेटमा समेटिने बताउनुभयो। उहाँले सुदूरपश्चिमका दुर्गम तथा सीमान्तकृत समुदायका भावना र योजनालाई सरकारले उच्च प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। राम्रा सुरुवातलाई आत्मसात् गर्दै विगतमा देखिएका कमजोरी सच्याएर आम नागरिकको अपनत्व हुने गरी बजेट निर्माण गरिने उहाँको भनाइ छ।

शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि र पर्यटनलगायतका महत्त्वपूर्ण क्षेत्रमा देखिने गरी परिवर्तन ल्याउन सरकार कटिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो। बजेट निर्माण प्रक्रियामा जनताका प्रत्यक्ष सरोकारका विषयलाई मात्र प्राथमिकता दिइने र आवश्यकताका आधारमा योजना छनोट गरिने प्रदेश सरकारको दाबी छ।

प्रदेशको भौतिक विकासका सन्दर्भमा बोल्दै मुख्यमन्त्री भट्टले रणनीतिक महत्त्वको दैजी–जोगबुढा सडकलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाउने जानकारी दिनुभयो। यसैगरी, सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी निर्माणको काम पनि यसै वर्षदेखि प्रारम्भ हुने उहाँले घोषणा गर्नुभयो। राजधानी निर्माणलाई केवल इँटा र सिमेन्टको संरचना विकासका रूपमा मात्र नभई सुदूरपश्चिमको मौलिकता र पहिचान स्थापित गर्ने अभियानका रूपमा अघि बढाइने उहाँले स्पष्ट पार्नुभयो।

नयाँ बजेटमार्फत विगतका अभ्यास र कमजोरीलाई सुधार गर्दै सुदूरपश्चिमको समग्र विकासमा नयाँ आयाम थपिने दाबी प्रदेश सरकारले गरेसँगै नागरिक स्तरमा विकास र सुशासनको थप आशा पलाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ