रसुवाका बाढीपीडितको सहयोगार्थ बेलौरीको वात्सल्य विद्या निकेतनद्वारा ८१ हजार रुपैयाँ हस्तान्तरण

कञ्चनपुर । रसुवामा आएको बाढीपहिरोका पीडित नागरिकहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कञ्चनपुरको बेलौरीस्थित वात्सल्य विद्या निकेतनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जम्मा गरेको छ। विद्यालय परिवारका तर्फबाट कुल एकासी हजार पाँच सय पच्पन्न रुपैयाँ कृषि विकास बैंकको श्रीपुर शाखा कार्यालयमार्फत उक्त कोषको खातामा दाखिला गरिएको हो।

प्राकृतिक विपत्तिमा परेका नागरिकहरूको पीडामा मलम लगाउन विद्यालय तहबाटै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उक्त रकम संकलन गरिएको विद्यालय प्रशासनले जनाएको छ। कुल सहयोग रकममध्ये विद्यार्थीहरूबाट पच्चीस हजार एक सय दश रुपैयाँ, शिक्षक तथा कर्मचारीहरूबाट उनन्तीस हजार नौ सय एकतीस रुपैयाँ र विद्यालय व्यवस्थापनका तर्फबाट छब्बीस हजार पाँच सय चौध रुपैयाँ योगदान गरिएको थियो।

विपद्को यस विषम परिस्थितिमा बाढीका कारण ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै विद्यालयले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना गरेको छ। बाढीले क्षति पुर्‍याएको जनजीवन छिट्टै सामान्य अवस्थामा फर्कन सकोस् भन्ने शुभेच्छासहित विद्यालयका तर्फबाट यो सहयोग गरिएको हो।

विद्यालयका प्रधानाध्यापक लक्ष्मण दियालले बाल्यावस्थादेखि नै विद्यार्थीहरूमा अरूको पीडा बुझ्ने, परोपकार गर्ने र विपद्मा परेकालाई हातेमालो गर्ने असल संस्कार विकास गर्न यस्तो पहल गरिएको बताएका छन्। उनले विपद्को समयमा मानवीय भावना नै सबैभन्दा ठूलो धर्म हुने उल्लेख गर्दै सहयोग अभियानमा स्वतःस्फूर्त रूपमा सहभागी हुने सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकहरूप्रति आभार व्यक्त गरे।

सुदूरपश्चिमको सीमावर्ती क्षेत्रबाट देशका विपद् प्रभावित नागरिकहरूको सहयोगमा शिक्षण संस्थाहरू यसरी सक्रिय हुनुले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई थप सुदृढ बनाएको स्थानीय सरोकारवालाहरूले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ