फागुन २१ को निर्वाचन : कांग्रेस–एमालेसहित ६८ दल दर्ता, बुधबार अन्तिम म्याद

काठमाडौं। आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रयोजनार्थ हालसम्म ६८ राजनीतिक दलले निर्वाचन आयोगमा आफ्नो दल दर्ता गराएका छन्। आयोगले तोकेको समयसीमा समाप्त हुन अब एक दिन मात्र बाँकी रहँदा मुलुकका प्रमुख राजनीतिक शक्तिहरू नेकपा एमाले र नेपाली कांग्रेससहितका दलहरू औपचारिक रूपमा दर्ता प्रक्रियामा सामेल भएका हुन्।

निर्वाचन आयोगका प्रवक्ता महादेव पन्थले मंगलबारसम्मको तथ्यांक सार्वजनिक गर्दै ६८ वटा दलले निर्वाचन प्रयोजनका लागि आवश्यक प्रक्रिया पूरा गरेको जानकारी दिए। निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूका लागि आयोगले यही मंसिर १० गते बुधबारसम्मको अन्तिम समयसीमा निर्धारण गरेको छ। प्रवक्ता पन्थले आयोगले तयार गरेको निर्वाचन कार्यक्रमअनुसार तोकिएको समयभित्रै दलहरू दर्ता भइरहेको र बुधबार कार्यालय समयभित्र बाँकी रहेका अन्य दलहरू पनि प्रतिस्पर्धाका लागि दर्ता हुने अपेक्षा आयोगले गरेको बताए।

विशेषगरी नेकपा एमालेले वर्तमान राजनीतिक परिस्थितिलाई लिएर दोहोरो रणनीति अख्तियार गरेको देखिएको छ। एमालेले एकातिर प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ भने अर्कोतिर निर्वाचन आयोगमा दल दर्ता गराएर चुनावी तयारीमा रहेको सन्देश पनि प्रवाह गरेको छ। यद्यपि, एमालेका शीर्ष नेताहरूले आफ्नो मुख्य माग वा ‘बटमलाइन’ प्रतिनिधि सभा पुनर्स्थापना नै रहेको स्पष्ट पार्दै आएका छन्।

यसैबीच, लामो समयदेखि बहसको विषय बनेको विदेशमा रहेका नेपाली नागरिकहरूको मताधिकारबारे पनि आयोगले गृहकार्य गरिरहेको जनाएको छ। प्रवक्ता पन्थका अनुसार विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने विषयमा सरकार र आयोगबीच गम्भीर छलफल भइरहेको छ, तर यसका लागि आवश्यक कानून निर्माण भएपछि मात्रै यो विषय सुनिश्चित हुनेछ। आयोगले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन आफूहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको दोहोर्याएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ