बेलौरीमा घर नक्सा अभिलेखीकरणका लागि ६ महिने म्याद, नक्सा पास नभएका घरधनीलाई मौका

बेलौरी, कञ्चनपुर । बेलौरी नगरपालिकाले नगर क्षेत्रभित्र निर्माण भइसकेका तर नक्सा पास नभएका वा अभिलेखीकरण हुन छुट भएका घरधनीहरूका लागि महत्वपूर्ण सूचना जारी गरेको छ। नगरपालिकाले त्यस्ता घरधनीहरूलाई आफ्नो घरको नक्सा अभिलेखीकरण गराई घरलाई वैधानिकता दिन ६ महिनाको समयसीमा तोकेको छ।

नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचना अनुसार, विगतमा निर्माण सम्पन्न भएका आर.सि.सि. तथा लोड बियरिङ प्रकृतिका घरहरू जसको नक्सा पास भएको छैन, तिनलाई कानुनी दायरामा ल्याउन यो विशेष अवसर दिइएको हो।

सूचनामा उल्लेख भए बमोजिम, यो प्रावधान मंसिर २ गते देखि आगामी वर्षको जेठ २ गतेसम्म लागू हुनेछ। यस अवधिभित्र सम्बन्धित घरधनीले आवश्यक कागजातसहित नगरपालिकाको नक्सा शाखामा निवेदन दिनुपर्नेछ।

अभिलेखीकरणका लागि सेवाग्राहीले निम्न कागजातहरू पेश गर्नुपर्ने नगरपालिकाले जनाएको छ: १. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि। २. घरको नक्सा। ३. जग्गाको ब्लुप्रिन्ट वा ट्रेस नक्सा। ४. सम्बन्धित घरधनीको नाममा रहेको जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि। ५. चार किल्ला प्रमाणित सिफारिस। ६. कर तिरेको रसिद।

नक्सा पास वा अभिलेखीकरण नभएका घरहरूलाई बैंक तथा वित्तीय संस्थाहरूले ऋण लगानीका लागि धितोका रूपमा स्वीकार नगर्ने तथा बिमा सम्बन्धी प्रयोजनका लागी घरको मूल्यांकनमा समेत समस्या आउने हुँदा यो प्रक्रिया अनिवार्य मानिन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ