बेलौरीमा मोटरसाइकल चोरीको शृङ्खला बढ्दो : एक महिना नबित्दै अर्को मोटरसाइकल गायब, प्रहरी भन्छ- ‘खोजी कार्य जारी छ’

बेलौरी ,कञ्चनपुर। कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा पछिल्लो समय सवारी साधन चोरीका घटनाहरू शृङ्खलाबद्ध रूपमा बढ्न थालेका छन् । बजार तथा आसपासका क्षेत्रबाट मोटरसाइकल चोरी हुने क्रम नरोकिएपछि स्थानीय बासिन्दामा सुरक्षाको विषयलाई लिएर त्रास फैलिएको छ । यसै क्रममा शनिवार (मंसिर १३ गते) बेलौरी नगरपालिका ५ स्थित मैनाहा क्षेत्रबाट अर्को एक मोटरसाइकल चोरी भएको छ ।

बेलौरी नगरपालिका ४, शान्तिपुर निवासी पुष्कर बिष्टको स्वामित्वमा रहेको म ३ प १४५९ नम्बरको पल्सर मोटरसाइकल शनिवार चोरी भएको हो । उनका छोरा माधव बिष्टका अनुसार सन् २०१९ मोडेलको कालो र निलो रङको उक्त मोटरसाइकल बेलौरी ५ मैनाहास्थित स्थानीय पसल नजिकै रोकिराखेको अवस्थामा अज्ञात व्यक्तिले चोरी गरी लगेको हो ।

बेलौरीमा छोटो अन्तरालमै मोटरसाइकल चोरी भएको यो अर्को घटना हो । यसअघि गत कार्तिक २६ गते राति पनि बेलौरी बजारस्थित खानेपानी ट्याङ्की नजिकै बस्ने श्रीकृष्ण न्यौपानेको घरभित्रै पार्किङ गरी राखिएको सु.प.प्र. ०१–०११प ५५२६ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको थियो । लगातार एक महिनाभित्रै बजार क्षेत्र र आसपासबाट मोटरसाइकलहरू गायब हुन थालेपछि स्थानीयले प्रहरी गस्ती र सुरक्षा सतर्कता बढाउन माग गरेका छन् ।

घटनाबारे ‘कञ्चन आवाज’ सँग कुरा गर्दै ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले चोरीको घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरीले सक्रियता बढाएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “हामीले घटनालाई गम्भीरतापूर्वक लिएका छौँ, हाल शङ्कास्पद क्षेत्रहरूमा खोजी कार्य जारी छ ।” प्रहरीले सम्भावित नाका र चोरीमा संलग्न हुन सक्ने व्यक्तिहरूमाथि निगरानी बढाइएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ