झलारी, कञ्चनपुर। विभिन्न १६ वटा राजनीतिक दल तथा समूहहरूबीच एकीकरण भई बनेको ‘नेपाली कम्युनिष्ट पार्टी’ ले कञ्चनपुरमा शक्ति प्रदर्शनसहित एकता सन्देश सभा गर्ने भएको छ । आइतबार शुक्लाफाँटा नगरपालिकाको झलारीमा सम्पन्न जिल्लास्तरीय तयारी बैठकले आगामी पुस ७ गते झलारीको खुला मञ्चमा विशाल सन्देश सभा आयोजना गर्ने निर्णय गरेको हो ।

पार्टी एकीकरणको सन्देश तल्लो तहसम्म पुर्याउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त सभामा पार्टीका वरिष्ठ नेता भीम रावल प्रमुख अतिथिका रूपमा सहभागी हुने तय भएको छ । जिल्ला संयोजक खेमराज पाण्डेको अध्यक्षतामा बसेको तयारी बैठकले सभालाई भव्य र व्यवस्थित बनाउन १० हजारभन्दा बढी नेता, कार्यकर्ता तथा शुभचिन्तकहरू उतार्ने निर्णय गरेको छ । बैठकमा पार्टीका केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य तथा एकता प्रक्रियामा सामेल भएका विभिन्न घटकका जिल्ला पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

सभाको व्यवस्थापन चुस्त बनाउन बैठकले १ हजार १ सय ११ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । साथै, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, प्रचारप्रसार तथा जनपरिचालन लगायतका कार्यहरू प्रभावकारी रूपमा सम्पादन गर्न आठवटा विभिन्न उपसमितिहरू समेत निर्माण गरिएको छ । बैठकले आसन्न सन्देश सभाको तयारीस्वरूप यही २५ गतेभित्र जिल्लाका सबै वडा तथा नगरस्तरीय तयारी भेलाहरू सम्पन्न गरिसक्ने कार्यतालिका पनि पारित गरेको छ ।
आइतबारको छलफलमा साविकको नेकपा माओवादी केन्द्रका नेताहरू देवीलाल चौधरी र खेम पाण्डे तथा एकीकृत समाजवादीका नेताहरू लालबहादुर खड्का र प्रकाश रावल लगायतले एकता प्रक्रिया र आगामी सभाको औचित्यबारे धारणा राखेका थिए । सुदूरपश्चिमको राजनीतिमा प्रभाव राख्ने विभिन्न कम्युनिष्ट घटकहरूको यो एकता र आगामी सभालाई कञ्चनपुरको राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।





