हुलाकी राजमार्गअन्तर्गत मोहना–बेलौरी–दैजी सडकको ठेक्का तोडियो, निर्माण व्यवसायीको जमानत जफत

बेलौरी, कञ्चनपुर। कञ्चनपुरको दक्षिणी क्षेत्रको मुख्य मेरुदण्ड मानिने हुलाकी राजमार्गअन्तर्गत मोहना–बेलौरी–दैजी सडक खण्डको निर्माण सम्झौता अन्ततः तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय धनगढीले निर्माण व्यवसायीको चरम लापरबाही र ढिलासुस्तीका कारण बिहीबार बाबा हन्स सिद्धीसाई संयुक्त उपक्रम (जेभी) सँगको ठेक्का सम्झौता विधिवत् रूपमा अन्त्य गरेको हो ।

मोहना नदीदेखि डोकेबजार, बेलौरी, बेलडाँडी हुँदै दैजी जोड्ने यस सडक खण्डको स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७३/७४ मा सम्झौता भएको थियो । सम्झौता भएको लामो समय बितिसक्दा पनि निर्माण कार्यले गति लिन सकेको थिएन । कुल २० किलोमिटर सडकमध्ये करिब ८२ प्रतिशत भौतिक प्रगति देखिए पनि मुख्य ५ किलोमिटर खण्डमा कालोपत्रे गर्न बाँकी रहँदा बेलौरीलगायत आसपासका बासिन्दाले वर्षौंदेखि सास्ती खेप्दै आएका थिए । योजना कार्यालय धनगढीका अनुसार पटक पटक ताकेता गर्दा पनि निर्माण व्यवसायीले साइटमा काम ठप्प पारेको र प्रतिबद्धता अनुसार काम नगरेकाले बाध्य भएर ठेक्का तोड्ने निर्णय लिनुपरेको हो ।

योजना कार्यालयले गत १४ कात्तिकमा ‘ठेक्का किन नतोड्ने ?’ भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधेको थियो । तर, व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएको र बाँकी काम सम्पन्न गर्ने कुनै भरपर्दो कार्यतालिका तथा स्रोत परिचालनको योजना पेश गर्न नसकेको कार्यालयले जनाएको छ । साथै, कार्य सुचारु गर्न तदारुकता नदेखाएको हुँदा सार्वजनिक खरिद ऐन तथा ठेक्का सम्झौताको उल्लंघन भएको ठहर गर्दै ठेक्का रद्द गरिएको हो ।

ठेक्का तोडिएसँगै सार्वजनिक खरिद ऐनको प्रावधान बमोजिम निर्माण व्यवसायीको कार्य सम्पादन जमानत (परफर्मेन्स बन्ड) जफत गरिने भएको छ । त्यस्तै, बाँकी रहेको अधुरो काम पूरा गर्न लाग्ने रकमसमेत सरकारी बाँकी सरह असुल उपर गरिने र सम्बन्धित निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिएको योजना कार्यालयले स्पष्ट पारेको छ । कार्यालयले हालसम्म भएको काम र बाँकी कामको नापजाँच तथा मूल्यांकन गरी वित्तीय फरफारक गर्न १५ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्माण व्यवसायीलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ