काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा मिश्रित समायोजन गरेको छ । निगमले आज (सोमबार) राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको खुद्रा बिक्री मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य सूचीबमोजिम निगमले स्थानीय बजारमा मूल्य समायोजन गरेको हो । निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ । यसले मोटरसाइकल तथा निजी सवारी साधन प्रयोगकर्तालाई थप आर्थिक भार पर्ने देखिएको छ ।
डिजल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उतारचढावका आधारमा आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार यो समायोजन गरिएको निगमको भनाइ छ ।
निगमका अनुसार समायोजित नयाँ मूल्य सोमबार राति १२ बजेदेखि नै कार्यान्वयनमा आउनेछ ।





