कञ्चन आवाज संवाददाता,बेलौरी, कञ्चनपुर । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बेलौरीको आयोजनामा आज ‘वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी’ सम्पन्न भएको छ। बेलौरीमा आयोजित उक्त कार्यक्रममा संस्थामा आबद्ध ७० जनाभन्दा बढी सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

संस्थाका सदस्यहरूमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा वित्तीय साक्षरताको अपरिहार्यता, आर्थिक व्यवस्थापनका उपाय र आर्थिक रूपमा सबल बन्ने तरिकाहरूका विषयमा प्रशिक्षण दिइएको थियो। सो अवसरमा उत्कृष्ट कर्जा सदुपयोग गर्ने, नियमित बचत गर्ने तथा वित्तीय अनुशासन कायम राख्ने तीन वटा केन्द्रका प्रतिनिधिहरूलाई कार्यसम्पादनको आधारमा क्रमशः प्रथम, द्वितीय र तृतीय पुरस्कारसहित कदर पत्रद्वारा सम्मान गरिएको थियो।

कार्यक्रमको अध्यक्षता गर्नुभएका नाडेप लघुवित्त बेलौरी शाखाका प्रमुख सुमन आचार्यले वित्तीय साक्षरताले पैसाको सही व्यवस्थापन, आर्थिक कार्ययोजना निर्माण, कार्यान्वयन तथा बचत गर्ने बानीको विकासमा टेवा पुर्याउने बताउनुभयो। उहाँले वित्तीय अनुशासनमा रही उद्यमशीलता विकासमा लाग्न सदस्यहरूलाई आग्रह गर्दै संस्थाले यस क्षेत्रमा निरन्तर महत्त्वपूर्ण भूमिका खेलिरहेको कुरामा जोड दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि एवं नाडेप इलाका कार्यालय अत्तरियाका प्रमुख रमेश राज रिमालले लघुवित्त संस्थाले समाजमा पारेको सकारात्मक प्रभावका बारेमा चर्चा गर्नुभएको थियो। उहाँले संस्थाको सेवा प्रवाहले ग्रामीण अर्थतन्त्र र महिलाहरूको जीवनस्तर उकास्न मद्दत पुगेको धारणा राख्नुभयो।

कार्यक्रममा नाडेप अत्तरिया शाखाका प्रमुख भरत प्याकुरेल, नाडेप कलुवापुर शाखाका प्रमुख शेखर भट्टराई लगायत स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन संस्थाका कर्मचारी बाल कुमारी चौधरीले गर्नुभएको थियो।






