कञ्चनपुर। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुरले जिल्लास्तरीय ‘एकता सन्देश सभा’ आज (सोमबार) आयोजना गर्दैछ। जिल्लाको मध्य भागमा पर्ने शुक्लाफाँटा नगरपालिकास्थित झलारीमा खुला मञ्चमा आयोजना हुने उक्त सभाको सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ। सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा एकता सन्देश सभा सम्पन्न भइसकेपछि कञ्चनपुरमा यो बृहत कार्यक्रम आयोजना गर्न लागिएको हो।
पार्टीको जिल्ला एकता सभा सहसंयोजक प्रकाश रावलका अनुसार, कार्यक्रमलाई सम्बोधन गर्न पार्टीका केन्द्रीय स्तरका शीर्ष नेताहरू कञ्चनपुर आउँदैछन्। सभामा पूर्व उपप्रधान तथा गृहमन्त्री डा. भीम रावल, पूर्व शिक्षा तथा स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल, पूर्व मन्त्री भानुभक्त जोशी तथा नेता खगराज भट्ट लगायतका केन्द्रीय नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। मुलुकको वर्तमान राजनीतिक परिस्थिति, राष्ट्रिय स्वाधीनता र पार्टीको आन्तरिक एकतालाई सुदृढ बनाउने उद्देश्यले यो सभाको आयोजना गरिएको बताइएको छ।

सभालाई व्यवस्थित र भव्य बनाउन विभिन्न ९ वटा उपसमितिहरू गठन गरी तयारी गरिएको छ। नेकपा नेता लोकेन्द्र लम्सालले पार्टी एकताको सन्देश शहरदेखि गाउँ तहसम्म पुर्याउन र कार्यकर्तामा उत्साह भर्न यो कार्यक्रम कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे। कार्यक्रममा जिल्लाभरबाट हजारौं नेता तथा कार्यकर्ताहरूको सहभागिता रहने नेकपा कञ्चनपुरकी नेतृ माया नेगीले जानकारी दिइन्। महिला, युवा, र जनवर्गीय संगठनहरूलाई सभामा सक्रिय रूपमा उतार्ने तयारी गरिएको छ।
देशमा आगामी फागुन २१ गतेका लागि आम निर्वाचनको घोषणा भइसकेको सन्दर्भमा यो सभालाई विशेष महत्त्वका साथ हेरिएको छ। राजनीतिक दल र जनताले निर्वाचनका सम्पूर्ण गतिविधिमा निर्बाध, स्वतन्त्र र भयरहित वातावरणमा सहभागी हुन पाउने सुनिश्चितताका लागि पनि पार्टीले खबरदारी गर्ने जिल्ला युवा नेता खेम पाण्डेले बताए। राष्ट्रिय हित, स्वाभिमान, संवृृद्धि र एकताका पक्षमा उभिन सम्पूर्ण देशभक्त शक्तिहरूलाई आह्वान गर्दै आजको सभाबाट कञ्चनपुरमा नयाँ राजनीतिक सन्देश प्रवाह गरिने आयोजकले दाबी गरेको छ।





