कञ्चनपुर १ बाट प्रतिनिधिसभा सदस्यमा तिलक भट्टको नाम सिफारिस, यस्तो छ चार दशक लामो राजनीतिक यात्रा

बेलौरी, कञ्चनपुर । आगामी संघीय निर्वाचनको पूर्वसन्ध्यामा कञ्चनपुरको राजनीतिक वृत्त तातिएको छ। यसै सन्दर्भमा ‘नेपाली कम्युनिष्ट पार्टी’ ले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको उम्मेदवारका लागि पुराना तथा अनुभवी कम्युनिष्ट नेता तिलक भट्टको नाम सिफारिस गरेको छ। लामो समयदेखि सुदूरपश्चिमको कम्युनिष्ट आन्दोलन र सामाजिक रुपान्तरणमा सक्रिय भट्टको नाम पार्टीको तल्लो कमिटीबाट सर्वसम्मत रूपमा सिफारिस भई केन्द्रमा पठाइएको हो।

पार्टीको विधान र आन्तरिक कार्यविधि अनुसार जिल्ला तथा प्रदेश कमिटीले आसन्न निर्वाचनका लागि उम्मेदवारहरूको नाम छनौट गरी केन्द्रीय कार्यालयमा पठाउने क्रममा भट्टको नाम प्राथमिकतामा परेको हो। प्राप्त विवरण अनुसार, साविक नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय लेखा परीक्षण आयोग सचिवालय सदस्य तथा सुदूरपश्चिम प्रदेश संयोजकको जिम्मेवारी सम्हालिरहेका भट्टलाई पार्टीले यसपटक संघीय संसदको बलियो उम्मेदवारका रूपमा अघि सार्ने तयारी गरेको छ। उहाँसँगै क्षेत्र नम्बर १ बाट अन्य केही नेताहरूको नाम पनि सिफारिस सूचीमा रहेको भए पनि भट्टको लामो राजनीतिक त्याग र स्थानीय जनस्तरमा रहेको पकडका कारण उहाँको दाबी बलियो मानिएको छ।

वि.सं. २०२७ साल जेठ ७ गते जन्मिएका भट्टको राजनीतिक जीवन कुनै आकस्मिक घटना नभई चार दशक लामो निरन्तर संघर्षको उपज हो। २०४० को दशकमा पञ्चायती व्यवस्थाको जगजगी रहेकै बेला शिक्षक र अग्रजहरूको प्रेरणाबाट वामपन्थी राजनीतिमा होमिएका उनी २०४६ सालको जनआन्दोलनमा सडक मोर्चामा सक्रिय थिए। अनेरास्ववियुको प्रारम्भिक कमिटी हुँदै स्ववियु सदस्य र पछि २०४८ सालमा नेकपा (एमाले) को संगठित सदस्यता प्राप्त गरेपछि उनको राजनीतिक यात्रा संस्थागत भएको थियो। २०४९ सालदेखि स्थानीय निकायको निर्वाचनमा पार्टीलाई जिताउन खटिएका भट्टले २०५१ देखि २०६१ सम्म साविक लक्ष्मीपुर गाउँ कमिटीको संस्थापक सचिव भएर संगठन विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेका थिए।

स्थानीय बासिन्दामाझ सरल र सहयोगी नेताका रूपमा परिचित भट्ट २०५४ सालको स्थानीय निकाय निर्वाचनमा साविक लक्ष्मीपुर गाविसको उपाध्यक्ष पदमा अत्यधिक मतका साथ निर्वाचित भएका थिए। त्यो जितले उनलाई जनअनुमोदित नेताका रूपमा स्थापित गरायो। यद्यपि, उनको राजनीतिक जीवन सधैं सहज भने रहेन। वि.सं. २०६५ देखि २०७७ सम्मको करिब १२ वर्ष उनले पार्टीभित्रको गुटबन्दी र प्रतिकूल परिस्थितिका कारण कुनै ठोस जिम्मेवारी बिना नै बिताउनुपर्यो। पद र प्रतिष्ठा नपाउँदा पनि कम्युनिष्ट आन्दोलन र विचारबाट विचलित नभई धैर्यपूर्वक पार्टी काममा लाग्नुलाई उनको सबल पक्षका रूपमा लिइन्छ।

पछिल्लो समय २०७८ सालमा नेकपा (एकीकृत समाजवादी) को गठनसँगै पुनः मूलधारको राजनीतिमा सशक्त पुनरागमन गरेका भट्टले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य र भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीको स्वकीय सचिवका रूपमा नीतिगत तथा कार्यकारी अनुभव हासिल गरिसकेका छन्।हाल विभिन्न कम्युनिष्ट घटकहरू बीचको एकता र सहकार्यको वातावरण बनिरहँदा ‘नेपाली कम्युनिष्ट पार्टी’ को ब्यानरमा उनको उम्मेदवारी सिफारिस हुनुले कञ्चनपुर १ को चुनावी प्रतिस्पर्धालाई रोचक बनाएको छ। विद्यार्थी राजनीतिदेखि स्थानीय सरकारको अनुभव र लामो संघर्षबाट खारिएका भट्टको उम्मेदवारीलाई कञ्चनपुरको दक्षिणी भेगमा विशेष चासोका साथ हेरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ