“तपाईँहरूको छोरी-चेली हुँ, यो ठाउँको समस्या समाधानमा सधैँ हातेमालो गर्नेछु”- माघी मेलामा पूर्वमन्त्री मगरको उद्घोष

सुरज श्रेष्ठ, बेलौरी, कञ्चनपुर। पूर्व खानेपानी मन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीकी नेतृ बिना मगरले कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ को समग्र विकास र समृद्धिको खाका कोर्ने काम आफ्नो कार्यकालमा सुरु भएको र त्यसलाई पूर्णता दिन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ।

बेलौरी नगर भलमन्सा समितिद्वारा बेलौरीको खुला मञ्चमा आयोजित ‘माघ म्याला २०८२’ को शनिबार औपचारिक उद्घाटन गर्दै पूर्वमन्त्री मगरले आफ्नो ५ वर्षे कार्यकालमा खानेपानी र ढल निकासको क्षेत्रमा ऐतिहासिक कामहरू भएको तथ्य प्रस्तुत गर्नुभयो।

विकास निर्माणका उपलब्धिलाई जनतामाझ स्पष्ट पार्दै मगरले बेलौरी र पुनर्वासको मुख्य बजार क्षेत्रमा वर्षायाममा हुने डुबान र हिलोको समस्या समाधान गर्न आधुनिक प्रविधिको ढल निकास आयोजना भित्र्याएको दाबी गर्नुभयो।

उहाँले भन्नुभयो, “काठमाडौँको गुह्येश्वरीमा रहेको प्रशोधित ढल सहितको आयोजना पछि नेपालमै पहिलो प्राथमिकतामा राखेर बेलौरी नगरपालिका र पुनर्वासको आई.बि.आर.डी.  बजारमा ठुलो लगानीको आयोजना केन्द्रित गरेको छु। हिजो बाटोमा हिँड्दा सधैँ हिलो हुने अवस्थाको अन्त्य गर्न यो योजना गेमचेन्जर साबित हुनेछ।”

आफ्नो कार्यकालमा बेलौरीका विभिन्न वडाहरूमा खानेपानीको समस्या हल भएको उहाँले तथ्यांक सहित प्रस्तुत गर्नुभयो। “बेलौरीको १, २, ४, ५, ८, ९ र १० नम्बर वडामा खानेपानीका ठुला आयोजनाहरू सम्पन्न भइसकेका छन् भने वडा नं ४ र ६ लाई केन्द्रित गरी थप बजेट विनियोजन गरेर काम अगाडि बढाइएको छ,” मगरले भन्नुभयो। उहाँले स्थानीय तह र संघको समन्वयमा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा समेत उल्लेख्य प्रगति भएको जिकिर गर्नुभयो।

थारु समुदायको महान पर्व माघी र नयाँ वर्षको शुभकामना दिँदै पूर्वमन्त्री मगरले थारु समुदायको पहिचान र अधिकारको लडाइँमा माओवादी आन्दोलनले नै मुख्य भूमिका खेलेको स्मरण गराउनुभयो।

समाजको अगुवा चयन गर्ने थारु समुदायको लोकतान्त्रिक अभ्यास ‘भलमन्सा’ चयनको प्रसङ्ग कोट्याउँदै उहाँले भन्नुभयो, “आज जसरी तपाईंहरू गाउँको सक्षम भलमन्सा छान्दै हुनुहुन्छ, त्यसरी नै यो निर्वाचन क्षेत्रको विकास र समृद्धिको नेतृत्व गर्न सक्ने सक्षम प्रतिनिधिको बारेमा पनि छलफल चलाइदिनुहुन म अनुरोध गर्दछु।”

उहाँले राष्ट्रिय स्वाधिनता र संविधानको रक्षाका लागि अबको नेतृत्व सचेत र सक्षम हुनुपर्नेमा जोड दिँदै कञ्चनपुर क्षेत्र नं १ लाई सुन्दर र विकसित बस्तीको रूपमा विकास गर्न आफू सदैव प्रतिस्पर्धी र तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।

सम्बोधनका क्रममा उहाँले विश्व राजनीतिमा देखिएको अस्थिरता र वैदेशिक हस्तक्षेपको उदाहरण दिँदै नेपालको राष्ट्रिय स्वाधिनता जोगाउन र संविधानको रक्षा गर्न नेकपा को नेतृत्व अपरिहार्य रहेको तर्क गर्नुभयो।

‘राष्ट्रिय एकता व विविधता हमार शान, थारू भाषा, संस्कृति बचैना हमार अभियान’ भन्ने मूल नाराका साथ सुरु भएको मेला पुष २९ गतेसम्म चल्नेछ। बेलौरी नगर भलमन्सा समितिका अध्यक्ष अमर चौधरीको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा विशिष्ट अतिथि एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट, बेलौरी नगरपालिकाका नगर प्रमुख पोति लाल चौधरी, उप-प्रमुख जोगराम चौधरी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ