नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि, संस्थापन पक्षद्वारा सहभागिता अस्वीकार

काठमाडौं। नेपाली कांग्रेसको इतिहासमा अर्थपूर्ण रूपमा हेरिएको विशेष महाधिवेशन आज (आइतबार) देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । पार्टी विधानको धारा १७ (२) बमोजिम ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको लिखित मागबमोजिम महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आयोजना हुन लागेको यो महाधिवेशनले देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीभित्रको आन्तरिक शक्ति सङ्घर्षलाई उत्कर्षमा पुर्‍याएको छ ।

काठमाडौं जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा हुने उद्घाटन सत्रअघि उपत्यकाका विभिन्न स्थानबाट झाँकी र र्‍यालीसहितको जुलुस प्रदर्शन गरिने विशेष महाधिवेशन व्यवस्थापन समिति सचिवालयले जनाएको छ । सोमबारसम्म चल्ने महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरू शनिबार नै काठमाडौं आइपुगेका छन् । महाधिवेशनको सफलता र पार्टीको आन्तरिक लोकतन्त्र सुदृढीकरणका लागि महामन्त्रीद्वयको अग्रसरतालाई संस्थापन इतर पक्षले व्यापक समर्थन जनाएको छ ।

यद्यपि, पार्टीको मूल नेतृत्वले भने यस विशेष महाधिवेशनलाई अस्वीकार गरेको छ । आयोजक पक्षले पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई प्रमुख अतिथिका रूपमा औपचारिक निमन्त्रणा पठाए पनि उहाँहरूले सहभागिता नजनाउने हुनुभएको छ । संस्थापन पक्षले विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठाउँदै आजकै मितिमा जिल्ला सभापति र युवाहरूको छुट्टै भेला आयोजना गरेको छ, जसले कांग्रेसभित्रको विभाजन रेखालाई थप गहिरो बनाएको देखिन्छ ।

आजको उद्घाटन समारोह लगत्तै बन्द सत्र प्रारम्भ हुनेछ । विशेष महाधिवेशन व्यवस्थापन समिति सचिवालय प्रमुख मनोजमणि आचार्यका अनुसार बन्द सत्रको अध्यक्षता उपस्थित महाधिवेशन प्रतिनिधिहरूमध्येका ज्येष्ठ सदस्यले गर्ने तय भएको छ, यद्यपि व्यक्तिको टुङ्गो भने लागिसकेको छैन । विशेष महाधिवेशनबाट आउने निष्कर्ष र पारित हुने प्रस्तावहरूले नेपाली कांग्रेसको आगामी राजनीतिक दिशा र नेतृत्वको वैधानिकतामा दूरगामी प्रभाव पार्ने निश्चित छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ