बेलौरी, कञ्चनपुर । सुदूरपश्चिमको राजनीतिमा चर्चित र प्रभावशाली मानिने नेता प्रेम आलेले आसन्न निर्वाचनमा आफ्नो परम्परागत निर्वाचन क्षेत्र डोटी छाडेर कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिस्पर्धा गर्ने भएका छन्। विगतमा नेकपा एमाले हुँदै एकीकृत समाजवादीमा सक्रिय रहेका आलेले यसपटक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट टिकट प्राप्त गरी चुनावी मैदानमा उत्रिने निर्णय गरेका हुन्।
डोटी जिल्लाबाट राजनीतिमा स्थापित भएका आलेको यो निर्णयले सुदूरपश्चिमको प्रादेशिक राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ। संविधानसभा निर्वाचन २०७० मा डोटी क्षेत्र नम्बर २ र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा डोटीबाटै निर्वाचित भएर संसदीय यात्रा तय गरेका आलेले यसपटक तराईको महत्वपूर्ण केन्द्र मानिने कैलाली–५ रोजेका हुन्। एकीकृत समाजवादी पार्टीमा रहँदा अध्यक्ष माधवकुमार नेपालसँगको तीव्र असन्तुष्टिपछि लामो समयसम्म निष्क्रिय रहेका उनी अन्ततः प्रचण्ड नेतृत्वको नेकपासँग जोडिन पुगेका छन्।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार आलेलाई पार्टीको आधिकारिक टिकट हस्तान्तरण गरेसँगै उनको उम्मेदवारी निश्चित भएको हो। पहाडी जिल्ला डोटीमा बलियो पकड बनाएका आलेको तराई झर्ने निर्णयलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी धनगढी उपमहानगरपालिका समेत समेटिएको कैलाली–५ सुदूरपश्चिमको ‘पावर सेन्टर’ मानिन्छ, जहाँबाट चुनाव लड्नु आलेका लागि अवसर र चुनौती दुवै हुन सक्छ।
विकास निर्माण र जनतासँग प्रत्यक्ष जोडिने स्वभावका कारण चर्चामा आइरहने आलेको यो कदमले कैलाली–५ को चुनावी समीकरणलाई पूर्ण रूपमा बदल्ने आँकलन गरिएको छ। विगतमा मन्त्री रहँदा उनले गरेका काम र सार्वजनिक छविले यहाँको सहरी तथा ग्रामीण मतदातालाई कसरी प्रभाव पार्छ भन्ने कुरा अबको चुनावी अभियानले नै स्पष्ट पार्नेछ। सुदूरपश्चिमको पहाडबाट तराईमा सिफ्ट भएको यो ‘हेभीवेट’ प्रतिस्पर्धालाई राष्ट्रिय स्तरमै चासोका साथ हेरिएको छ।





