जनमुक्ति सेनाका पूर्व कमान्डर मानसिंह माल डडेल्धुराबाट चुनाव लड्दै

कञ्चन आवाज संवाददाता | डडेल्धुरा

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता तथा केन्द्रीय सदस्य मानसिंह माल डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने भएका छन्। पार्टीकोले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि माललाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा निर्णय गरेसँगै उनी चुनावी मैदानमा होमिएका हुन्।

डडेल्धुराको परशुराम नगरपालिका–४, कटाल स्थायी घर भएका मालको उम्मेदवारीलाई पार्टीले आधिकारिकता दिएपछि जिल्लाको चुनावी माहोल तातेको छ। विद्यार्थी राजनीतिबाट उदाएका मालले वि.सं. २०५८ वैशाखदेखि भूमिगत राजनीति सुरु गरेका थिए। १० वर्षे जनयुद्धका क्रममा जनमुक्ति सेनाको कमान्डरको भूमिकामा रहेर मोर्चा सम्हालेका उनी निडर र जुझारु स्वभावका नेता मानिन्छन्।

विद्यार्थी आन्दोलनको अगुवाइ गर्दै पार्टी राजनीतिमा स्थापित भएका मालले साविक नेकपा (माओवादी केन्द्र) को सुदूरपश्चिम प्रदेश उपाध्यक्षको जिम्मेवारी समेत कुशलतापूर्वक निर्वाह गरिसकेका छन्। हाल नेकपाको केन्द्रीय सदस्य रहेका उनी स्पष्ट वक्ता र जनताको काममा अहोरात्र खटिने नेताका रूपमा परिचित छन्।

‘राम्रो काम गर्ने जुनुन’ र विकासप्रेमी सोच बोकेका माललाई पार्टीले सर्वसम्मत रूपमा अघि सारेको हो। उनको उम्मेदवारी निश्चित भएसँगै नेकपाले डडेल्धुरामा आफ्नो बलियो उपस्थिति देखाउने तयारी थालेको छ। पूर्व जनमुक्ति सेनाका कमान्डर समेत रहेका मालको उम्मेदवारीले डडेल्धुराको संसदीय प्रतिस्पर्धालाई निकै रोचक मोडमा पुर्‍याएको विश्लेषण गर्न थालिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ