कांग्रेसद्वारा हिमाली जिल्लाका उम्मेदवारको टुंगो, बाँकी निर्णय ४ बजेको बैठकबाट

कञ्चन आवाज संवाददाता काठमाडौँ ।

नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि हिमाली जिल्लाहरूमा उम्मेदवार चयन प्रक्रिया लगभग सम्पन्न गरेको छ। पार्टीले बाँकी रहेका जिल्ला तथा क्षेत्रहरूको उम्मेदवारको अन्तिम टुंगो लगाउन आज अपराह्न ४ बजे संसदीय बोर्डको बैठक बोलाएको छ।

पार्टी सहमहामन्त्री डिला संग्रौला पन्तले हिमाली भेगका जिल्लाहरूमा उम्मेदवार तय गर्ने कार्य करिब सकिएको जानकारी दिएकी छन्। ‘सबैलाई समेटेर एकढिक्का भई पार्टी निर्वाचनमा होमिने हाम्रो तयारी छ,’ सहमहामन्त्री संग्रौलाले भनिन्, ‘सबै उम्मेदवारको टुंगो लागेपछि मात्रै एकमुष्ट रूपमा नामावली सार्वजनिक गरिनेछ।’

उम्मेदवार छनोटमा पार्टीभित्रको आन्तरिक एकतालाई प्राथमिकतामा राखिएको छ। संस्थापन पक्षले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका ‘चुनाव जित्न सक्ने’ प्रभावशाली नेताहरूलाई पनि टिकट दिने गरी लचिलो रणनीति अपनाएको छ। यसका लागि संस्थापन पक्षले प्रवक्ता देवराज चालिसे र केन्द्रीय सदस्य मधु आचार्यलाई देउवा पक्षसँग संवाद र समन्वय गर्ने विशेष जिम्मेवारी तोकेको छ।

जिम्मेवारी पाएका नेताहरूले देउवा पक्षका शीर्ष नेताहरू बालकृष्ण खाण, सुदूरपश्चिमका प्रभावशाली नेता रमेश लेखक तथा डा. शेखर कोइरालानिकट मानिने डा. मिनेन्द्र रिजालसँग घनीभूत छलफल अघि बढाएका छन्। आज साँझ बस्ने संसदीय बोर्डको बैठकले आपसी सहमति र संवादका आधारमा देशैभरका उम्मेदवारको अन्तिम सूची तयार पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ