जनकपुरबाट बालेनको आह्वान: ‘अधिकारका लागि काठमाडौं धाउने दिन अन्त्य गरौं, सही नेतृत्व चुनौं’

कञ्चन आवाज संवाददाता बेलौरी, कञ्चनपुर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मधेस प्रदेशको राजधानी जनकपुरधामबाट आफ्नो चुनावी अभियानको औपचारिक सुरुवात गरेका छन्। काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिई सक्रिय राजनीतिमा होमिएका शाहले सोमबार जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्दै संघीयताको मर्म अनुरूप अधिकारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य हुनुपर्नेमा जोड दिएका हुन्।

मैथिली भाषामा सम्बोधन गर्दै शाहले भावनात्मक नारामा भन्दा पनि सुशासन र विकासका एजेन्डामा केन्द्रित हुन मतदातालाई आग्रह गरे। उनले भने, “मधेसको छोरा प्रधानमन्त्री बन्नका लागि मात्र होइन, सही व्यक्ति र सही सरकार निर्माणका लागि ‘घन्टी’ मा मतदान गर्नुहोस्।”

शाहले आफ्नो सम्बोधनका क्रममा राखेका प्रमुख विचारहरू:

  • केन्द्रीकृत मानसिकताको विरोध: शाहले स-साना कामका लागि मधेसका जनता काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए। “काठमाडौं पशुपति र स्वयम्भू दर्शन गर्न जाने हो, अधिकार माग्न होइन। प्रदेशलाई बलियो बनाएर स्थानीय समस्या यहीँ समाधान गरिनुपर्छ,” उनले भने।

  • पर्यटन र अर्थतन्त्र: धार्मिक पर्यटनको प्रचुर सम्भावना औंल्याउँदै उनले अयोध्यामा वार्षिक १० लाख पर्यटक पुग्दा सीताको जन्मभूमि जनकपुरमा १ करोड पर्यटक भित्र्याउन सकिने आधार प्रस्तुत गरे। उनले ‘डेस्टिनेसन वेडिङ’ का लागि विदेश जानुको सट्टा जनकपुरलाई विश्वस्तरको वैवाहिक गन्तव्य बनाउनुपर्ने धारणा राखे।

  • किसान र पीडितका पक्षमा: काठमाडौंको मेयर हुँदा कार्यक्षेत्रको सीमितताका कारण मिटरब्याज पीडित र उखु किसानको समस्या समाधान गर्न नसकेको स्वीकार गर्दै, अब नीतिगत तहबाटै यसको समाधान खोजिने प्रतिबद्धता व्यक्त गरे।

रास्वपाको वरिष्ठ नेताको जिम्मेवारी सम्हालेलगत्तै मधेस झरेका बालेनको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। परम्परागत राजनीतिको विकल्पका रूपमा उदाएको दाबी गर्ने रास्वपाले मधेसमा आफ्नो संगठन विस्तार र जनमत निर्माणमा शाहको छविलाई उपयोग गर्ने रणनीति लिएको देखिन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ